स्कुलमा कक्षा चल्दैन, ऋण गरेर सदरमुकाममा ट्युसन

सुर्मा गाउँपालिकाका महेश विक तीन महिनादेखि सदरमुकाम चैनपुरमा छन् । सुर्माको दौलीचौर माध्यमिक विद्यालयमा १० कक्षामा अध्ययनरत उनी डेरा लिएर सदरमुकाममा पढ्न आएका हुन् । गणित, विज्ञान र अंग्रेजी विषयको ट्युसन पढेबापत उनले प्रतिविषय ४ हजार रुपैयाँका दरले ट्युसन सेन्टरलाई बुझाउँछन् ।

 

‘२५ सय कोठा भाडा छ । खाना–नास्ता गरेर महिनाको ९/१० हजार खर्च भइरहेको छ,’ महेशले भने, ‘स्कुलमा क्लास नभएपछि यहाँ आएर पढ्न थालेको हुँ । एसईईको तयारी त गर्नै पर्‍यो ।’

बुबा भूपेन्द्र विकले भारतको कुल्लुमनाली क्षेत्रका जंगलमा मजदुरी गरेको पैसाले खर्च चलाइरहेको बताउने उनले दौलीचौर माविका सबैजसो विद्यार्थी मंसिरदेखि चैनपुर आएर ट्युसन पढिरहेको बताए । ‘खर्च जुटाउन नसक्ने कोहीकोही मात्रै गाउँमा होलान् । नत्र ऋण गरेरै भए पनि सबै जना चैनपुरमा आएर पढिरहेका छन्,’ उनले भने । सुर्मामा पाँच वटा माध्यमिक विद्यालय छन् । ती सबै विद्यालयमा गरी १ सय ६० जनाभन्दा बढी विद्यार्थी आगामी चैतमा हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को तयारीमा छन् ।

गाउँका विद्यालयमा कक्षा १० को पढाइ बन्द भएपछि धेरैजसो विद्यार्थी ट्युसन पढ्नकै लागि सदरमुकाम चैनपुर झरेका छन् भने न्यून आर्थिक अवस्था भएकाहरू न नियमित कक्षामा सहभागी हुन पाएका छन्, न ट्युसन पढ्न नै । ‘कसै–कसैलाई बिहान खाए साँझ के खाउँ भन्ने अवस्था छ । छोराछोरीको कापी–किताब र स्कुल ड्रेस पनि किन्न नसक्नेहरू चैनपुरमा डेरा खोजेर त्यत्रो खर्च गरेर कसरी पढाउन सक्छन् ?’ सुर्माका तिलक पुजाराले भने, ‘कोर्स पूरा भएको हुँदैन । स्कुलमा पढाइ हुँदैन । जोसँग ट्युसन पढाउने पैसा छैन, उनीहरू कसरी एसईई देलान् ?’ आफ्नो गाउँ रहेको वडा–४ का मात्रै १६/१७ जना यस्तो अवस्थाका रहेको उनले सुनाए ।

सुर्माको एउटाबाहेक सबै विद्यालयका शिक्षकले मंसिरदेखि कक्षा १० को पढाइ बन्द भएको स्विकारे । ‘हामीले स्कुलमै पढाउँछौं, ट्युसन पढ्न नजानुहोस् भन्दाभन्दै पनि नमानेर सबै विद्यार्थी चैनपुर गए । विद्यार्थीहरू गएपछि मंसिरदेखि १० कक्षाको पढाइ भएको छैन,’ १० कक्षामा ४५ विद्यार्थी अध्ययनरत दौलीचौर माविका प्रधानाध्यापक शिवराज जोशीले भने, ‘एक जनाले ६०/७० हजार खर्च गरेर चैनपुर जानुभन्दा हामी सातवटै विषय निःशुल्क पढाउँछौं भन्दा पनि मानेनन् ।’ उनले आफ्नो विद्यालयमा अध्ययनरत तर सदरमुकाममा ट्युसन पढ्न खर्च जुटाउन नसक्ने ६/७ विद्यार्थी गाउँमै रहेको उनले बताए । ‘६/७ जना भए पनि आऊ, हामी कक्षा चलाउँछौं भन्दा पनि उनीहरू आएका छैनन्,’ उनले भने ।

सुर्माको सबैभन्दा बढी ७२ जना एसईई दिने विद्यार्थी आफ्नो विद्यालयमा भएको सुर्मा माविका प्रअ देवबहादुर पुजाराले बताए । आफ्नो विद्यालयमा कक्षा चलिरहेको उनले बताए । ‘कक्षामा हाजिर नपुगेपछि फाराम भर्न पाइँदैन भन्यौं । दसैंसम्म सबै यहीँ थिए,’ प्रअ पुजाराले भने, ‘दसैंमा फाराम भरिसकेपछि धेरैजसो चैनपुर गइहाले । १५/२० विद्यार्थी भए पनि पढाइरहेका छौं ।’

सुर्मा मात्रै नभएर अहिले जिल्लाका सबैजसो पालिकाका विद्यार्थी ट्युसन पढ्न सदरमुकाम ओइरिएका छन् । जिल्लाभरिका विद्यार्थी चैनपुर आएका कारण यहाँका घरमा भाडामा कोठा पाउन पनि मुस्किल हुन थालेको छ भने ट्युसन सेन्टरमा विद्यार्थीको घुइँचो लागेको छ । ट्युसन सेन्टरहरूले एउटै कोठामा ७०/८० जनासम्म विद्यार्थी राखेर पढाइरहेका छन् । एउटै सेन्टरमा पाँच सयभन्दा बढी विद्यार्थी अंग्रेजी, गणित, विज्ञान, ऐच्छिक गणित र अर्थशास्त्रलगायत विषयमा ट्युसन पढिरहेको सञ्चालकहरू बताउँछन् ।

सदरमुकाम आउन थालेपछि अधिकांश विद्यालयमा कक्षा १० को पढाइ बन्द भएको छ । विद्यालयमा पढाइ बन्द हुँदा सदरमुकाम चैनपुर आएर पढ्न नसक्ने न्यून आयस्रोत भएका सयौं विद्यार्थीको उच्च शिक्षा प्रवेशको ढोका मानिने एसईईको तयारी प्रभावित भएको छ । जिल्लाको साइपाल, सुर्मा, तलकोट, मस्टा गाउँपालिकाका अधिकांश विद्यालयमा मंसिरयता कक्षा १० को पढाइ भएको छैन । यस्तै छबिसपाथीभेरा, थलारा, केदारस्युँ, बित्थडचिर, दुर्गाथली, खप्तडछान्ना गाउँपालिका र बुगल नगरपालिकाका कतिपय माविमा कक्षा १० को पढाइ बन्द भएपछि ट्युसन पढ्नका लागि खर्च गर्न नसक्ने विद्यार्थीलाई समस्या भएको हो ।

‘स्कुलमा पढाइ नहुने भएकाले ऋण खोजेर चैनपुर आएको हुँ,’ ६१ विद्यार्थी कक्षा १० मा अध्ययनरत रहेको मस्टाको रिलुचौर माविका युवराज द्वालले भने, ‘हाम्रो स्कुलका आधाजसो विद्यार्थी चैनपुरमै छौं । चैनपुर आउन नसक्नेहरू भातेखोला (पालिकाको केन्द्र भएको ठाउँ) मा पढ्न गएका छन् । त्यहाँ जान पनि खर्च जुटाउन नसक्नेहरू घरमै बसिरहेका छन् ।’ उनले आफ्नो विद्यालयका २० जनाजति विद्यार्थी घरमै बसेर एसईईको तयारी गरिरहेको बताए ।

बझाङका ८८ माध्यमिक विद्यालयका ४ हजार ५ सय विद्यार्थीले यस वर्ष एसईईमा सहभागी हुन फाराम भरेको शिक्षा विकास तथा समन्वय इकाइ बझाङको तथ्यांक छ । ‘कतिपय विद्यालयमा कोर्स सकिएको छैन । यो बेलामा एसईई दिने विद्यार्थीका लागि थप कक्षा सञ्चालन गरेर विशेष तयारी गराउनुपर्ने बेलामा पढाइ नै बन्द गर्नु दुःखद कुरा हो,’ इकाइका सूचना अधिकारी वसन्तबहादुर सिंहले भने, ‘यस्तोमा बाहिर गएर ट्युसन पढ्न नसक्ने विद्यार्थीको पढाइ त डामाडोल नै हुन्छ । पालिका र विद्यालय प्रशासनले यो कुरालाई गम्भीर रूपमा लिनु जरुरी छ ।’

सुर्मा गाउँपालिकाका अध्यक्ष खडक बोहराले विद्यालयमा कक्षा १० को पढाइ बन्द भएको र कमजोर आयस्रोत भएका विद्यार्थीको पढाइ पूरा हुन नपाएको बारे छलफल गरिने बताए । ‘म आजै विद्यालयका हेडसरहरूलाई तुरुन्त पढाइ सञ्चालन गर्न निर्देशन दिइहाल्छु,’ उनले भने, ‘यो गम्भीर चिन्ताको विषय हो । पालिकाको बैठकमा पनि यो विषयमा छलफल हुन्छ ।’ उनले जिल्ला समन्वय समितिले पनि यो विषयमा छलफलका लागि सहजीकरण गर्नुपर्ने बताए ।

आफूहरूले नियन्त्रणका लागि प्रयास गर्दा पनि विद्यार्थीहरूले विद्यालयमा पढ्न नमानेको तलकोट गाउँपालिकाका शिक्षा शाखाका प्रमुख हरिन्द्र उपाध्यायको भनाइ छ । ‘चैनपुरमा आएर ट्युसन पढ्ने कुरा फेसनजस्तो भएको छ,’ उनले भने, ‘कुनै वडाले त एसईई तयारी कक्षा सम्बन्धित स्कुलले गर्ने भनेर रकम नै छुट्याएका छन् तर विद्यार्थी बस्नै मान्दैनन् ।’ सत्यवादी माविका शिक्षक लक्ष्मण उपाध्यायले यस्तो अभ्यास रोक्नका लागि पालिका सक्रिय हुनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?