डक्टरी पढ्न भारतीय विद्यार्थी कर्णालीमा

कनकासुन्दरी गाउँपालिका–१२ का जंगबहादुर रोकाया दस बर्ष अघिको कर्णालीको स्वास्थ्य अवस्था सम्झिँदा निकै भक्कानिन्छन् । कार्यालय सहयोगीले चलाइराखेको स्वास्थ्य संस्थाबाट उनी आफैँले सेवा लिएका छन् भने औषधि अभावले सामान्य बिरामीले समेत अकालमा ज्यान गुमाएको देखेका छन् ।

सुत्केरीलाई समयमै अस्पतालसम्म पुर्‍याउन नसक्दा आमा र बच्चाको ज्यान जोखिममा पर्नु त कर्णालीको व्यथा नै थियो ।यतिसम्म कि मरेको शव पोर्ष्टमार्टमका लागि समेत दोहोरो भाडा तिरिदिएर नेपालगञ्जबाट डाक्टर झिकाउनुपर्थ्यो । स्वास्थ्य शिक्षा त झन् परको विषय थियो ।

आफ्नै गाउँका दर्जन बढी सामान्य चोटपटक लागेका बिरामी महँगो खर्च जुटाएर सुर्खेत, नेपालगञ्ज र काठमाडौं पठाउनु परेको तितो यथार्थ उनले भोगेका छन् । ‘उतिबेला भोक, अनिकाल भन्दा पनि मानिसहरु रोगले मरेका थिए,’ उनी भन्छन् ।

तर पछिल्लो समय कर्णालीमा साधारण स्वास्थ्य सेवा होइन, सुविधायुक्त अत्याधुनिक प्रविधिको उपचार र स्वास्थ्य शिक्षासमेत सहज बन्दैछ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापनासँगै जुम्ला स्वास्थ्य सेवा, स्वास्थ्य शिक्षा र अनुसन्धानमा फड्को मार्दैछ । प्रतिष्ठानमा कर्णालीबासी वा नेपालीको मात्रै होइन, विदेशी विद्यार्थीको समेत शैक्षिक गन्तव्य बन्दैछ ।

‘पहिले अभावै अभावमा गुज्रेको कर्णालीमा अहिले विदेशी विद्यार्थीहरु आएर डक्टरी पढ्ने अवस्था बनेको छ,’ जंगबहादुर भन्छन्, ‘हामी कर्णालीबासीका लागि योभन्दा खुसीको विषय के हुन्छ ?’

उसो त भारतलाई बिरामी र मजदुर पठाउने गरिरहेको थियो कर्णालीले । प्रतिष्ठान स्थापनाका पहलकर्ता नरेश भण्डारीले सेतो हिउँमा सेतो अप्रोनधारी डक्टरहरु उत्पादन गर्ने सपनाले गन्तब्य भेटाएको अनुभुति सुनाउँछन् ।

बिरामी पठाउने कर्णालीले डाक्टर पठाउन थालेको छ । सेतो अप्रोनधारी विदेशी विद्यार्थीहरुले कर्णालीमा अध्ययन गरिरहेको दृष्य हेर्ने सपना पुरा हुन थालेको छ । एमबीबीएसदेखि विभिन्न विधाका विशेषज्ञ चिकित्सकसमेत कर्णालीले देश विदेशलाई आपूर्ति गर्न सुरु गरेको उनले बताए।

अझ चिकित्सा पढ्न चाहने विदेशी विद्यार्थीका लागि समेत जुम्ला गन्तव्य बन्दैछ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला अभावको विम्ब बनेको कर्णालीको चित्र उल्टाउने आधार बनेको भण्डारी बताउँछन् । प्रतिष्ठानले यसै वर्षदेखि चिकित्सा शास्त्रअन्तर्गत् एमबीबीएस पढाउन ५० विद्यार्थीको भर्ना लिएको छ । जसमा ३ जना भारतीय विद्यार्थी समेत छन् ।

यही शैक्षिक सत्रमा प्रतिष्ठानमा डाक्टर पढ्न तीन जना भारतीय विद्यार्थी भर्ना भएको प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले बताए । उनका अनुसार तीमध्ये २ छात्रा र १ छात्र छन्। दुवै छात्रा जम्मु काश्मिरकी हुन् भने छात्र अल्लाहपुर, उत्तर प्रदेशका । प्रतिष्ठानले एमबीबीएस अध्यापन सुरु गरेको तीन बर्ष भइसकेको छ । चौँथो ब्याचमा भारतीय विद्यार्थीहरु समेत भर्ना हुन आइपुगेका छन् ।

प्रतिष्ठानले पहिलो बर्ष एमबीबीएस अध्यापनको लागि २० जनाको कोटा पाएको थियो । पछिल्लो दुई बर्षमा ३०/३० जना भर्ना लियो । यो बर्षदेखि चिकित्सा शिक्षा आयोगले ५० जनाको कोटा दिएपछि जुम्लामा चहलपहल अझै थपिएको छ ।

प्रतिष्ठान जुम्लामा डक्टरी बिषयमा गुणस्तरीय पठनपाठन भइरहेकोले पनि विदेशी विद्यार्थीहरुले चासो देखाएको हुन सक्ने पदाधिकारीहरुले बताएका छन् । अहिले चिकित्सा शिक्षाका चार वटा स्कुलमा स्नातक र स्नातकोत्तर गरी १३ वटा कार्यक्रम चलिरहेका छन् ।

स्कुल अफ मेडिसिन, स्कुल अफ फार्मेसी र स्कुल अफ पब्लिक हेल्थमा स्नातकदेखि स्नातकोत्तरसम्मका कार्यक्रम सञ्चालनमा छन् । स्कुल अफ नर्सिङमा अहिलेसम्म स्नातक मात्रै भए पनि अर्को सत्रबाट स्नातकोत्तर कार्यक्रम थपिने उपकुलपति रावलले बताए ।

यी सबै कार्यक्रमका लागि झण्डै एक सय शिक्षक–प्राध्यापक खटिएका छन् । अहिले करिब ३ सय विद्यार्थी अध्ययनरत प्रतिष्ठानमा यही फागुनबाट ४ सय पुग्ने उनको भनाइ छ । ‘एमबीबीएस, एमडी, बीएससी नर्सिङ, बीएनएस, बी फार्मा, एमपीएचलगायत कार्यक्रम चलाउने बिषय उठ्दा पनि धेरैले खेलाँची ठान्थे, तर ती सबै कुरा अहिले सम्भव र सफल भएका छन्,’ उनले भने ।

उनले सम्बन्धित काउन्सिलका परीक्षामा बीपीएच र नर्सिङमा शत प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको बताए । अन्य विधामा पनि राष्ट्रिय औसतभन्दा राम्रो स्थानमा रहेको उनको भनाइ छ ।

उनका अनुसार प्रतिष्ठानको आम्दानी पनि गएका ३ वर्षमा ७ गुणाले बढेको छ । ३ वर्षअघिसम्म वार्षिक ५ करोड आम्दानी हुने प्रतिष्ठानले गत वर्ष २७ करोड कमाएको थियो । ‘यो वर्ष ३२ करोड रूपैयाँ पुग्ने अनुमान छ,’ उपकुलपति डा. रावल भन्छन्, ‘जुम्लाजस्तो ठाउॅमा धेरैले असम्भव भनेको कामले मूर्तरूप पाएको छ ।’

आन्तरिक आय बढे पनि प्रतिष्ठान अझै आत्मनिर्भर भने हुन सकेको छैन । बढिरहेका कार्यक्रमका लागि शिक्षक तथा कर्मचारीको संख्या पनि बढिरहेकाले बजेट अपुग भइरहेको उनले बताए । ८ वर्षअगाडि ५० देखि १ सयको बीचमा बिरामी आउने प्रतिष्ठानको अस्पतालमा अहिले दैनिक ६ सयसम्म सेवा लिन आइरहेका छन् ।

आसपासका अरू धेरै जिल्लाका बिरामीलाई सहज होस् र दैनिक २ हजार बिरामीको उपचार गर्न सकियोस् भनेर प्रतिष्ठानले दैलेखको राकम कर्णालीमा १ सय शय्याको स्याटेलाइट अस्पताल बनाउने योजना प्रतिष्ठानसँग छ । यसो गर्दा कर्णाली प्रदेश र सुदूरपश्चिमको करिब १० लाख जनसंख्यालाई आफ्नो सेवा क्षेत्रमा समेट्ने प्रक्षेपण छ ।

जुम्लामै विशेषज्ञ सेवा उपलब्ध भएपछि एकातिर जनताको जीवनस्तरमा प्रत्यक्ष प्रभाव पारेको छ, अर्कोतिर नेपालगन्ज र अरू सहरहरूमा गएर उपचार गराउने खर्च जोगिएको छ।

‘प्रकारान्तरले यो राज्यलाई नै योगदान हो,’ रावलले भने,‘ एउटा हात भाँचिएको बिरामी जुम्लाबाट काठमाडौँको वीर अस्पताल जाने हो भने कम्तिमा १ लाख खर्च हुन्छ । अब यो उपचार जुम्लामै हुन्छ र यति ठूलो खर्च पनि जोगिने अवस्था बनेको छ ।’

‘यसअघिसम्म कर्णाली अभाव, रोग, भोग, अशिक्षा, अत्यास र आहतको पर्याय बन्यो । भौगोलिक विकटता त एउटा बहाना मात्र थियो। राज्यको उदासीनता मुख्य कारण थियो,’ उनी भन्छन् । प्रतिष्ठानले विशेषज्ञस्तरको स्वास्थ्य सेवा सुनिश्चित गर्दैछ । यसले मानव विकास सूचक सुधारमा प्रत्यक्ष योगदान गर्ने विश्वास उनको भनाइ छ ।

उनी अघि थप्छन्, ‘अब कर्णालीमा पहिलाजस्तो हैँजा वा रुघाखोकीको महामारीले त मान्छे मर्न दिदैनौं नै । अरु ठूला महामारी र स्वास्थ्य संकटसँग जुध्ने क्षमता हामीसँग छ ।’

कोभिडकालमा महामारीसंग लड्न प्रतिष्ठानले सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही भागका लागि ठूलो भरथेग गरेको थियो । केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला, टेकुपछि सर्वाधिक नमुना परीक्षण गर्ने संस्थामा यही प्रतिष्ठान दरिएको थियो ।

नेपालगन्जको भेरी अस्पतालमा आईसीयु चलाउन पनि जुम्लाबाट डक्टरहरु गएका थिए । प्रतिष्ठानले मलेसियाको सनवे विश्वविद्यालयअन्तर्गतको सनवे मेडिकल सेन्टरसँग अनुभव आदानप्रदान समेत गर्दैछ । यसका लागि समझदारी भइसकेको छ । जसअनुसार, ५ जना एमडी र नर्स आगामी केही महिनामा मलेसिया गएर तालिम गर्नेछन् भने त्यहाॅबाट पनि केही कर्णालीमा आएर अभ्यास गर्नेछन्।

एमडी र नर्स गरी ५ जनाले त्यहाॅ काम गर्न पाउने र त्यहाॅका पनि कर्णालीमा आउनेछन् । अमेरिकाको हृयुस्टन मेडिकल स्कुलका प्राध्यापक पनि प्रतिष्ठानमा योगदान गर्नेछन् । यस्तै मेमोरियल युनिभर्सिटी अफ क्यानाडासंग अनुसन्धान र एमडीजीपी कार्यक्रमका लागि सहकार्य हुंदैछ ।

दुवै संस्थाबीच शिक्षक–प्राध्यापकसमेत आदानप्रदान हुने गरी प्रक्रिया अघि बढेको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानले आवश्यकता अनुसार पूर्वाधार बनाउन सकेको छैन । २०७२ सालमा जुम्लामा ३ सय शय्याको अस्पताल बन्यो । कक्षा सञ्चालन, छात्रावास र शिक्षक–प्राध्यापकका लागि आवास बनाउन बाँकी नै छ।

भौतिक सुविधाको अभाव र न्यून तलबका कारण विशेषज्ञ चिकित्सक टिकाउन प्रतिष्ठानलाई हम्मे परेको छ । सरकारी कर्मचारीले विभिन्न नाममा ५ पटकसम्म तलब सुविधा बढाउँदा जुम्लामा पढाउन जाने विशेषज्ञ चिकित्सकको तलब ७ वर्षदेखि बढाउन नसकेको प्रतिष्ठानको नेतृत्व गुनासो गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?