लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले बालकुमारी र सर्लाहीमा प्रदर्शनका क्रममा सरकारद्वारा गोली हानेर हत्या गर्नु लज्जास्पद भएको बताएका छन् ।
बुधबार गजेन्द्रनारायण सिंहको २२ औं पुण्य तिथिको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सर्लाही र बालकुमारीमा नागरिकले शान्तिपूर्णरुपमा प्रदर्शन गर्दा पनि सरकारले गोली हानी हत्या गर्नु गलत भएको बताए ।
उनले वाक स्वतन्त्रताका लागि लड्नेहरुबाटै प्रदर्शन गर्दा र बोल्दा मार्ने कुरा लोकतन्त्रको पक्षमा हुनै नसक्ने बताए । लोकतन्त्रमा बोल्ने र प्रदर्शन गर्ने सुविधा सबैलाई हुने उनको जिकिर थियो ।
‘हामी अहिले पनि आफूलाई आन्दोलनकै अवस्थामा पाउँछौँ । किनभने बारम्बार हामी सोच्नका लागि बाध्य हुन्छौँ की फेरि जेलमा बस्नुपर्ने हो कि, फेरि फाँसी पाउनुपर्ने हो कि वा फेरि गोली खानुपर्ने हो कि ?,’ ठाकुरले भने, ‘नागरिकले मौलिक अधिकार माग्दा सरकारले लाठी लचाउँछ, त्यतिलेमात्रै नभएर गोली चलाउँछ । लोकतन्त्रमा यस्तो कल्पनासम्म पनि गर्न सकिदैन ।’
उनले सरकारको सो कदम गैरलोकतान्त्रिक भएको भन्दै विरोध गरे । अध्यक्ष ठाकुरले जनसंख्याको आधारमा प्रदेश र स्थानीय सरकार बनाउनुपर्ने र त्यसकै आधारमा राज्यको श्रोत साधनको विनियोजन हुनुपर्ने बताए ।