सडक डिभिजन पाल्पालाई कांग्रेस गुल्मीले सडक र पुल निर्माणमा भएको ढिलाईप्रति ध्यानाकर्षण गराएको छ । गुल्मी जिल्लाको रुद्रवेणी–वामीटक्सार सडक निर्माण, स्तरोन्नति र ठाउँ–ठाउँमा पुल निर्माण गर्ने कार्य समयमा नभएकाले त्यस क्षेत्रका आम जनताहरु समस्यामा परेकाले सडक डिभिजनलाई ध्यानाकर्षण गराएको हो ।
रुद्रवेणी–वामीटक्सार हुँदै ढोरपाटनसम्मको सडक यस क्षेत्रकै सबैभन्दा धेरै सवारी र मालवाहक यातायातका साधनहरु चल्ने पुरानो सडक हो । प्रत्येक वर्ष बजेट परेर ठेक्का समेत हुने तर निर्माण कार्य समयमा नहुँदा जनताले सास्ती भोग्नु परेको छ ।
रुद्रवेणी–वामीटक्सार सडक अन्तर्गत विभिन्न ठाउँमा पहिरो खस्ने, कजवेको समयमा मर्मत सम्भार नहुँदा कठिनाई भोग्नु परेको कांग्रेस गुल्मीका सचिव भट्टराईले बताए । सडक अन्तर्गत बाँदरे पहिरो, जोहाङ्ग–खैरेनी बजारको साँघुरो बाटोको बैकल्पिक व्यवस्थाका लागि आवश्यकता अनुसार पहल गरी कार्यान्वयन गर्नुपर्ने उनले बताए ।
सडक अन्तर्गतको नादेवा खोला, डहरे खोला, भार्से खोला, गेदी खोलामा पक्की पुल निर्माणका लागि ठेक्का भइसकेको तर काम समयमा सुरु नभएका कारण समस्या भएको छ । सिंचाई अन्तर्गत रहेको कुलोका लागि सडक डिभिजन कार्यालयले समेत समन्वय गर्दै स्थलगत अवलोकन गरेर यथाशक्य छिटो काम अगाडि बढाउन माग गरेको उनले बताए ।
ध्यानाकर्षण पत्र बुझ्दै डिभिजन प्रमुख सापकोटाले सडक र पुल निर्माणका विषयमा भएको ध्यानाकर्षणलाई आफुले सक्दो पहल गर्ने बताए ।