जाजरकोट नलगाड नगरपालिका–८ हलचौरकी ६३ वर्षीया डम्मरकुमारी खत्री एकल महिला हुन् । भूकम्पले घर भत्किएपछि झण्डै तीन महिनादेखि पालमुनि बसिरहेकी उनको बुढ्यौली ज्यान चिसोले बिरामी परेको छ । दमका रोगी उनका श्रीमान्को १३ वर्षअघि नै मृत्यु भयो । छोरा बिहे गरेर अलग्गै बस्न थाले । छोरीको पनि बिहे भयो । उनी एक्लै बस्न थालेको १२ वर्ष बढी भइसक्यो ।
जाजरकोटको नलगाडमा अस्थायी आवास बनाइँदै । तस्बिर : महेश केसी/कान्तिपुर
एक्लै भएर आफूले अहिलेसम्म टहरा निर्माण गर्न नसकेको दुखेसो डम्मरकुमारीले पोखिन् । भनिन्, ‘मसँग टहरा बनाउने पैसा छैन । मैले कतैबाट पैसा पनि पाएकी छैन । भूकम्प गएको केही दिनमा पाएको त्रिपाल र केही ओढ्नेओछ्याउने बाहेक पाएकी छैन । टहरा बनाउन पैसा पाइन्छ भन्ने कुरा पनि मलाई कसैले भनेनन् । म कहीँ जान सक्ने अवस्था पनि छैन ।’
आधा भत्किएको घरमा बस्न डर लाग्ने भएकाले पालमै बसिरहेको उनले बताइन् । ‘मान्छेको डर पनि उस्तै छ । अरुले धमाधम टहरा बनाएका छन् । के गर्ने कसो गर्ने भन्ने चिन्ता छ,’ उनले भनिन्, ‘अरुको जस्तै आफ्नो पनि टहरा बन्छ भन्ने लाग्यो । तर यहाँ त धेरै कुरा गर्नुपर्ने रहेछ । मलाई केही थाहै भएन, घरमा अरु कोही भएन । अहिले न पैसा आयो न टहरा बन्यो ।’ आफूले केही थाहा नपाएकाले सुरुमै आफ्नो नामै कसैले नटिपाइदिएको गुनासो उनले गरिन् ।
नलगाड–९ की ७५ वर्षकी दुर्गाकुमारी सिंह पनि एकल हुन् । श्रीमान्को मृत्यु भयो । छोराछोरी छैनन् । त्रिपालमा बसिरहेकी उनको टहरा बनाउने काम अघि बढ्न सकेको छैन । वडाध्यक्षले राहतबापतको २५ हजार दिने भनेर खबर पठाए पनि एक्लै भएकाले कसरी बनाउने चिन्ता भइरहेको उनले बताइन् । ‘म काम गर्न सक्ने अवस्थामा छैन । अहिलेसम्म त पैसा पनि पाएकी छैन । छिमेकका सबै टहरा बनाएर बसिसके, म अहिलेसम्म पालमै छु,’ उनले भनिन्, ‘कसरी टहरा बनाउने भन्ने चिन्ता छ । पैसा दिएपछि अरुले सहयोग गर्छन् कि भन्ने आशा छ ।’
नलगाड–९ घरङ्गाकी ४० वर्षीया लक्ष्मी सिंहका घरमा बालबच्चा र बुढ्यौली उमेरका सासू–ससुरामात्रै छन् । अफिम बोकेको आरोपमा पक्राउ परेका उनका श्रीमान् तीन वर्षदेखि कारागारमा छन् । लक्ष्मीले आधा भत्किएकै घरमा बालबच्चा र बुढापाकाको जेनतेन स्याहार पुर्याएकी छन् । घरमा बालबालिका र वृद्धवृद्धा मात्र भएकाले टहरा बनाउन नसकेको लक्ष्मीले बताइन् । ‘त्रिपालको चिसो थेग्न नसकेपछि हामी आधा भत्किएकै घरमा बसिरहेका छौं । हातमा सीप भएकाले टहरा बनाए । मेरो घरमा सीप भएको कोही छैन,’ उनले भनिन्, ‘राहत पाएको २५ हजारले टिन र काठ पनि किनेकी छु । सबै आ–आफ्नो काम गरिरहेका छन् । बनाइदिने मान्छे कोही छैन ।’ अरुले बनाइसकेपछि ज्याला दिएर आफ्नो टहरा बनाइ माग्ने सोचेको उनले बताइन् । समयमै टहरा बनाउन नसक्दा डरैडरमा चर्किएको घरमा बस्न बाध्य भएको उनले सुनाइन् ।
एकल महिलालाई मात्र होइन, घरमा काम गर्न सक्ने पुरुष नभएको घरमा पनि टहरा बनाउन समस्या भएको छ । महिला, बालबालिका, ज्येष्ठ नागरिक मात्र भएको परिवारले पनि अहिलेसम्म टहरा बनाउन सकेका छैनन् । पुरुष नभएका घरमा अझै पनि टहरा निर्माण हुन नसकेको नलगाड–८ हलचौरका रामप्रसाद खत्रीले बताए । ‘मेरै गाउँमा १० देखि १२ जनासम्म एकल महिला छन्,’ उनले भने, ‘कसैका श्रीमान्को भारतमा मृत्यु भयो । कसैको यार्सागुम्बा टिप्न गएको बेला डोल्पामा मृत्यु भयो । कसैको बिरामीले घरमै मृत्यु भयो । एकल महिला आफैं टहरा बनाउन नसक्दा उनीहरू अझैसम्म पालमा बस्न बाध्य छन् ।’ उनीहरूले सरकारले दिएको पहिलो किस्ताबाट गाउँलेमार्फत जस्ता किनेर ल्याइदिएका छन् । धेरैजसोले ज्याला दिएर काठ पनि चिराएका छन् । कसैले टहरा बनाइदिने मान्छे पाएका छैनन् भने कसैसँग ज्यालामा मिस्त्री खोज्ने पैसा पनि छैन,’ खत्रीले भने ।
नलगाड–९ का वडाध्यक्ष भबिन्द्रबहादुर सिंहले एकल महिला र घरमा काम गर्ने पुरुष नभएकाहरूले पहिलो किस्ताबापत २५ हजार रुपैयाँ पाए पनि टहरा बनाउन सुरु गर्न नसकेको बताए । उनले भने, ‘मेरो वडामा श्रीमान्, छोराछोरी कोही पनि नभएका तीन जना महिला त्रिपालमै बसिरहेका छन्,’ उनले भने, ‘घरमा काम गर्ने पुरुष नभएका ३०/३५ परिवारले पनि टहरा बनाउन सकेका छैनन् ।’
राष्ट्रिय जनगणना २०७८ अनुसार नलगाड नगरपालिकामा ७ सय १२ एकल महिला छन् । जाजरकोटमा ३ हजार ९ सय ४९ जना एकल महिला छन् । रुकुम पश्चिममा ४ हजार ७९ एकल महिला छन् । घर भत्किएपछि तिनै तहका सुरक्षाकर्मीले एकल महिला, असहाय परिवारलाई प्राथमिकतामा राखेर सहयोग गरिएको जिल्ला प्रशासन कार्यालय जाजरकोटका प्रशासकीय अधिकृत हरिषचन्द्र शर्माले बताए । उनले केही संस्थाले उनीहरूलाई सहयोग गरेको खबर पाए पनि कतिलाई कसरी सहयोग भयो भन्ने तथ्यांक नभएको बताए ।
जाजरकोटमा भूकम्प प्रभावित लाभग्राहीको संख्या ४२ हजार ५ सय २४ पुगेको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार २८ हजार ६ सय ८२ लाभग्राहीसँग अस्थायी आवासको सम्झौता भएको छ । अहिलेसम्म १० हजार ३ सय ४१ अस्थायी टहरा निर्माण भएका छन् । जिल्ला विपद् व्यवस्थापन समितिबाट १ अर्ब ३४ करोड १ लाख ७५ हजार रकम निकासा भएको छ । पालिकाबाट ६९ करोड ३३ लाख ७५ हजार रकम पहिलो किस्ताबापत भूकम्प प्रभावितलाई बाँडिएको छ । स्थानीय तहबाट रकम प्राप्त गर्ने लाभग्राहीको संख्या २७ हजार ७ सय ३५ रहेको छ ।
जिल्ला प्रशासन रुकुम पश्चिका अनुसार अहिलेसम्म जिल्लामा लाभग्राहीको संख्या २९ हजार ४ सय ६ पुगेको छ । जिल्लामा १६ हजार ३ सय ४६ टहरा निर्माण भएका छन् । ७ हजार ४ सय ९७ टहरा निर्माणका क्रममा छन् । जिल्ला विपद् कोषबाट स्थानीय विपद् कोषमा ७३ करोड ५१ लाख ५० हजार रकम गएको छ । स्थानीय विपद् कोषबाट २६ हजार ५ सय ७३ लाभग्राहीले राहत पाएका छन् । अहिलेसम्म ६६ करोड ४३ लाख २४ हजार रुपैयाँ स्थानीयको खातामा गएको सहायक प्रजिअ प्रवेश बडुवालले बताए । उनका अनुसार प्रहरीले अझै मुचुल्का उठाउने काम गरिरहेको छ । लाभग्राहीको संख्या अझै बढ्न सक्ने उनले बताए ।
टहरा बनाउने बजेट दुई सातादेखि प्रशासनमै
स्थानीय तहहरूको ढिलाइका कारण भूकम्पपीडितलाई अस्थायी टहरा निर्माणबापत आएको रकम दुई सातादेखि जिल्ला विपद् व्यवस्थापन समितिको खातामा थन्किएको छ । जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर कात्तिक १७ गते गएको भूकम्पले सल्यानका तीन स्थानीय तहमा झण्डै तीन हजार घरमा बस्न नमिल्ने गरी क्षति पुगेको तथ्यांक संकलन भएको छ ।
पछिल्लो तथ्यांक अनुसार दार्मा गाउँपालिकामा २ हजार २ सय ७९, बाग्चौर नगरपालिकामा ६ सय र कुमाख गाउँपालिकामा १ सय ८० बस्नै नमिल्ने गरी क्षति भएको सूचीमा छन् । यीमध्ये दार्मामा ५ सय २०, कुमाखमा ८० र बाग्चौरका १ सय परिवारले अस्थायी टहरा निर्माणका लागि पहिलो किस्ताबापत २५ हजार रुपैयाँका दरले पाएका छन् । स्थानीय तहहरूले लाभग्राहीको संख्या बढ्दै जाँदा निवेदन संकलनमा व्यस्त भएको र कागजी प्रक्रिया पूरा गर्न नसक्दा जिल्ला प्रशासनबाट बजेट माग गर्न नसकेको बताउँदै आएका छन् । जिल्ला प्रशासनले पुस २५ गते नै अस्थायी टहरा निर्माणका लागि दोस्रो चरणमा ५ करोड प्राप्त भएकाले रकम माग गर्न पालिकाहरूलाई पत्र लेखे पनि अहिलेसम्म कागजपत्र पेस गर्न सकेका छैनन् ।
पालिकाले क्षतिसहितको कागजपत्र पेस गर्न नसक्दा भूकम्पपीडितलाई अस्थायी टहरा निर्माण गर्न कठिनाइ भएको छ । सरकारले अस्थायी टहरा निर्माणका लागि दुई किस्तामा ५० हजार दिने भने पनि उक्त रकम नपाउँदा भूकम्पपीडित जोखिम मोलेर भत्किएकै घरमा बस्न बाध्य हुँदै आएका छन् भने कोही व्यापारीसँग उधारो तथा ऋण लिएर टहरा बनाउन बाध्य छन् । पहिलो किस्ताका लागि कागजपत्र पेस गरेको एक महिना बढी भैसक्दा पनि राहत रकम नपाउँदा टहरा बनाउन कठिनाइ भएको दार्मा–५ भालुखोलाका चन्द्रबहादुर खड्काले बताए । उनले अहिले टहरा बनाउन व्यापारीबाट उधारो कर्कटपाता ल्याए पनि बेलैमा टहरा बनाउन नसक्दा चिसोको मारमा परेको सुनाए ।
दार्मा–२ लिरापाजाकी सीता खत्रीले पहिलोको २५ हजारले टहरा बनाउन नपुगेपछि आफन्तसँग १५ हजार ऋण लिएको बताइन् । ‘घर बनाउँदा लागेको ७ लाख ऋण तिर्न नभ्याउँदै घरै भत्कियो । टहरो बनाउन लिएको ऋण पनि किस्ता नपाएर तिर्न सकिएला जस्तो छैन,’ उनले भनिन् । प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले कार्यालयको खातामा ५ करोड रुपैयाँ आइसकेकाले छिटो माग गर्न पुस २५ मै पालिकाहरूलाई पत्र पठाए पनि अहिलेसम्म माग नगरेको बताए । कागजी प्रक्रिया पूरा गर्न कठिनाइ भएकाले समयमै माग गर्न नसकेको हुन सक्ने उनले बताए ।
‘यसअघि प्राप्त २ करोडबाट ७ सय परिवारले पहिलो किस्ता पाएका थिए । बजेट अभावमा धेरैले पाउन सकेका थिएनन् । अहिले आएको बजेट कागजपत्र नआउँदा थन्किएको छ,’ उनले भने । दार्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेशमकुमार ओलीले लाभग्राही बढ्दै गएकाले कागजात तयार गर्न ढिलाइ भएर टहराका लागि तत्काल माग गर्न नसकिएको बताए । दार्माका ५ सय २० ले मात्र पहिलो किस्ताबापत २५ हजार रुपैयाँ पाएको ८ सय ५६ परिवारले अस्थायी टहरा बनाएका उनले बताए । पहिलो किस्तासमेत पाउन नसकेका परिवार कोही क्षतिग्रस्त भवनमै र कोही त्रिपालमा बस्न बाध्य भएको उनको भनाइ छ ।
बाग्चौरका निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर कठायतले राहत रकम माग गर्न कागजपत्र तयार गरिरहेको बताए । यता कुमाख गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत छवि खड्काले केही पीडित थपिएको र कागजात पूरा गर्न ढिलाइ भएकाले रकम माग गर्न ढिलो भएको बताए ।