झन्डै २ अर्ब रुपैयाँ हिनामिना गरेर फरार भएका मेयर नेपालीलाई पक्राउ गर्न ‘रेड कर्नर नोटिस’

झन्डै दुई अर्ब रुपैयाँ हिनामिना गरेर फरार भएका बाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई पक्राउ गर्न ‘रेड कर्नर नोटिस’ जारी भएको छ ।

इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसमेत रहेका देवकुमार नेपालीलाई पक्राउ गर्न नेपाल प्रहरीले प्रहरीको अन्तर्राष्ट्रिय फौजदारी सङ्गठन (इन्टरपोल) लाई आग्रह गरेपछि इन्टरपोलले ‘रेड कर्नर नोटिस’ निकालेको हो । उनीमाथि इमेज सहकारीका बचतकर्ताको एक अर्ब ६० करोड र विभिन्न बैंकहरूको ३५ करोड गरी दुई अर्ब रुपैयाँ हिनामिना गरेको आरोप लागेको छ ।

नेपाली गएको वैशाखदेखि नै फरार छन् । बचतकर्ताको उजुरीका आधारमा सहकारीका अन्य पदाधिकारी चित्रबहादुर भण्डारी, नरमती बुढा, शक्ति किसान, डोरबहादुर परियार र अनिता बुढामगर पक्राउ परिसकेका छन् । उनीहरूलाई जिल्ला अदालत बाग्लुङको गएकाे साउन ५ गतेको आदेशले पुर्पक्षका लागि थुनामा पठाएको छ । संस्थाकी कोषाध्यक्ष लक्ष्मी सेन सुनारलाई प्रहरीले हिजो ललितपुरबाट पक्राउ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?