इलामको पशुपतिनगर भन्सार कार्यालयले आर्थिक वर्ष २०८०/८१ को पुससम्ममा एक करोड ३४ लाख १३ हजार रुपैयाँ राजश्व सङ्कलन गरेको छ । यो, लक्ष्यको ६९ दशमलव ९६ प्रतिशत हो । आर्थिक वर्ष २०८०/८१ मा भन्सारले एक करोड ९१ लाख ७१ हजार राजश्व सङ्कलनको लक्ष्य लिएको थियो ।
अवैध कारोबारअन्तर्गत बरामद भएको सामग्री लिलामीबाट सबैभन्दा बढी राजश्व सङ्कलन भएको हो । पशुपतिनगर भन्सारअन्तर्गत आठ छोटी भन्सार कार्यालय रहे पनि ती सबै बन्द छन् ।
नेपालतर्फ भन्सार भए पनि भारतमा भन्सार कार्यालय नहुँदा समस्या भएको कार्यालय प्रमुख प्रवीन सुब्बाले बताउनुभयो । खुला सीमानाका भएका कारण चोरी पैठारी रोक्न कठिनाइ भएको उहाँको भनाइ छ ।