नुवाकोटको विदुरमा अवकाश पाएका महिला स्वास्थ्य स्वयंसेविकालाई एक लाख रुपैयाँसहित सम्मान

नुवाकोटको विदुर नगरपालिकाले अवकाश पाएका ३० जना महिला स्वास्थ्य स्वयंसेविकालाई जनही एक लाख रुपैयाँसहित सम्मान गरेको छ ।

६० वर्ष उमेर पूरा भएका ३० जना स्वयंसेविकालाई बिदाइका क्रममा तोकिएको अवधिसम्म सेवा पुर्याएको भन्दै नगदसहित सम्मान गरेको मेयर राजन श्रेष्ठले जानकारी दिनुभयो ।

नगरपालिकाले बनाएको कानुनअनुसार १० वर्षदेखि १५ वर्ष सेवा गरेबापत ५० हजार, १५ वर्षदेखि २० वर्षसम्म सेवा गरेबापत ७५ हजार र २० वर्षभन्दा बढी सेवा पुर्याएबापत एक लाख रुपयाँ दिइने उल्लेख छ । घरघरमा पुगेर स्वयंसेविकाका रुपमा सेवा पुर्याउँदै आएका स्वयंसेविकालाई गरिएको सम्मानले उत्साहित बनाएको छ ।

विभिन्न तहमा रहेका सरकारले सञ्चालन गर्दै आइरहेको स्वास्थ्य कार्यक्रमलाई घरघरमा पुर्याउने स्वास्थ्य स्वयंसेविकाले काम गरेको दिन न्यूनतम पारिश्रमिक मात्रै पाउने गरेका छन् ।

यसअघि अवकाशको समयमा सङ्घीय सरकारबाट २० हजार र प्रदेश सरकारबाट पाँच हजार रुपैयाँ उपलब्ध गराइँदै आएकामा विदुर नगरपालिकाको निर्णयले थप राहत पुगेको स्वयम्सेविकाहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?