भूकम्पपीडितका लागि आएको चिनियाँ राहतमा बबन्डर

चीनको चाइना फाउन्डेसन फर रुलर डेभलपमेन्टले रुकुम पश्चिमका भूकम्पपीडितका लागि भनेर पठाएको राहत वितरणलाई लिएर माओवादी केन्द्रभित्र बबन्डर मच्चिएको छ । राहत वितरणको विषयलाई लिएर माओवादी केन्द्रका महासचिव देव गुरुङ र वैकल्पिक केन्द्रीय सदस्य गोर्खबहादुर केसीबीच विवाद भएको हो ।

 

उक्त फाउन्डेसनले नेपालका चारवटा पार्टी कांग्रेस, एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीमार्फत राहत बाँड्ने भनेर सामग्री पठाएको थियो । अन्य पार्टीले आ–आफ्नो कोटाअन्तर्गतको राहत वितरण गरे पनि माओवादी केन्द्रले आफ्नो भागमा परेको राहत वितरण गर्दा विवाद र समस्या बल्झिएको हो ।

गत मंसिर २० गते राहत बाँड्न भनेर आएका चिनियाँ नागरिक सोउ सिच्याङको टिम र नेपालको प्रतिनिधि संस्थाका कन्ट्री डाइरेक्टर मुक्ति सरासिनीको माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य केसीसँग विवाद भएको थियो ।

विवाद एक–अर्कालाई हात हालाहालसम्मको अवस्थामा पुगेको र उक्त विवाद स्थानीय प्रहरी कार्यालयसम्म पुगेर तत्काललाई मिलाइएको थियो । पछि फेरि चिनियाँ नागरिकले आफूमाथि हातपात नै भएको भनेर जाजरकोट जिल्ला प्रहरी कार्यालयमा उजुरी गर्न तम्सिएपछि प्रहरीले उक्त घटनाबबारे प्रतिवेदन तयार गरेर अभद्र व्यवहार गर्न नहुने अन्तर्गत मुद्दा दर्ता गरेको बताएको छ ।

माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य केसीले उक्त राहत सामग्री वितरण गर्ने जिम्मा पाएको नेपालको प्रतिनिधि संस्थाका कन्ट्री डाइरेक्टर मुक्ति मरासिनी महासचिव देव गुरुङका भदैनीका श्रीमान् भएको र दुवैको मिलिभगतमा राहत सामग्रीमा ठूलो भ्रष्टाचार भएको भन्दै यसको छानबिन हुनुपर्ने माग गरेपछि माओवादी केन्द्रमा यो विवाद उत्कर्षमा पुगेको छ ।

जाजरकोट जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक माधव डीसीका अनुसार चिनियाँ महिलाले न्यायको माग गरेपछि केसी, मुकेश रावल र अमर खत्रीका नाममा मुद्दा दर्ता गरेको बताए । जाहेरीमा उल्लेख भएकामध्ये अमर खत्री ५ हजार धरौटीमा रिहा भएको र बाँकी २ जना फरार रहेको प्रहरी निरीक्षक डीसीको भनाइ छ ।

माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य केसीले आफूलाई पार्टीले ‘स्पष्टीकरण सोध्ने र आवश्यक कारबाही गर्ने’ भनेपछि जवाफमा लेखेको स्पष्टीकरण–पत्र सार्वजनिक भएपछि यो घटनाक्रम पनि बाहिरिएको हो । माओवादी केन्द्रका महासचिव गुरुङलाई सम्बोधन गरेर लेखिएको ६ पृष्ठको उक्त स्पष्टीकरणमा केसीले भूकम्पपीडितका लागि आएको राहतमा भ्रष्टाचार भएको उल्लेख गरेका छन् । केसीले महासचिव गुरुङ र माओवादी केन्द्रकी कर्णाली प्रदेश इन्चार्ज विमला केसी उक्त ‘भ्रष्टाचारमा जोडिएको’ आरोप पनि लगाएका छन् ।

चाइना फाउन्डेसन फर रुलर डेभलभमेन्टमार्फत ग्लोवल कर्पोरेसन डेभलपमेन्टले हालसम्म जिल्ला विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन समिति रुकुम पश्चिमलाई कुनै पनि राहत सामग्री हस्तान्तरण नगरेको लिखित प्रष्टीकरण जिल्ला प्रशासन कार्यालयले दिएको छ । भूकम्पपीडितका लागि आउने हरेक राहत सामग्री जिल्लामा दर्ता गरेर मात्रै हस्तान्तरण गर्नुपर्ने एकद्वार प्रणालीको नियम विपरीत यस संस्थाले राहत बाँडेको प्रशासन कार्यालयको पत्रबाट पनि स्पष्ट हुन्छ ।

 

माओवादी केन्द्रका महासचिव गुरुङले जिल्ला सदरमुकाम खलंगामा पत्रकार सम्मेलन नै गरेर चाइनाको सहयोगमा आएको राहत सामग्री प्रतिभूकम्पपीडितलाई २३ हजार रुपैयाँ बराबरको सामान वितरण गर्ने बताएका थिए । तर, त्यसपछि बाँडिएको सामान १० हजार बराबरको पनि नभएको गोर्खबहादुरको दाबी छ ।

साथै उनले इन्चार्ज विमलाले आठविसकोटका लागि आएको राहतसमेत सानीभेरीमा लगेर बाँडेको र भर्पाइ भने आठविसकोटको गराएको बताएका छन् । ‘ठूलाहरूले ७५ प्रतिशत लुटेर बचेको २५ प्रतिशतको पोको पनि भूकम्पले अति प्रभावित क्षेत्र आठविसकोटबाट पार्टी इन्चार्ज विमलाले लुटिन्,’ माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य केसीले प्रस्तुत गरेको स्पष्टीकरण–पत्रमा भनिएको छ ।

 

महासचिवलाई सम्बोधन गरिएको स्पष्टीकरणमा देव गुरुङ र इन्चार्ज विमलामाथि गोर्खबहादुरले गालीगलौजपूर्ण भाषासमेत प्रयोग गरेका छन् । आफूलाई पार्टीले बेलाबेलामा दिने पद र जिम्मेवारीसँग कुनै मतलब नभएको भन्दै उनले आफूलाई जनताको साथ भएको र यही नै आफ्ना लागि ठूलो कुरा भएको समेत बताएका छन् ।

गत पुस २८ गते बसेको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले गोर्खबहादुर केसीलाई ‘स्पष्टीकरण सोध्ने र आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाउने’ निर्णय पनि गरेको छ । यसपछि माओवादी केन्द्रले कुनै प्रतिक्रिया नजनाए पनि जिल्लामा भने अनेकन् अड्कलबाजी गरिन थालेका छन् ।

आठविसकोट नगरपालिकाका पूर्वप्रमुखसमेत रहेका केसीले अबको कदम कसरी अगाडि बढाउँछन् र पार्टीले कस्तो कदम चाल्छ भन्नेबारे अहिल्यै केही भन्न सकिने अवस्था नरहेको माओवादी केन्द्रका जिल्ला नेताहरूले बताएका छन् ।

राहत सामग्रीमा भ्रष्टाचार गरेको आरोपबारे माओवादी केन्द्रका महासचिव गुरुङले यसमा कुनै सत्यता नभएको बताएका छन् । ‘यो त चाइनास्थित संस्थाले नेपालको संस्थासँग नियमसंगत साझेदारी गरेर सबै प्रक्रिया पुर्‍याएर राहत वितरण गरेको हो,’ उनले भने, ‘हामीले त राहत बाँड्ने कुरामा यो–यो ठाउँमा बाँड्नुपर्छ भनेर मात्रै भनेका हौं । यसबाहेक के–कसरी बाँड्ने भन्ने त संस्थाको कुरा भयो ।’ गोर्खबहादुरले दिएको स्पष्टीकरणपछिको अवस्थाबारे गुरुङले यो पार्टीको अन्तरिक विषय भएकाले आन्तरिक रूपमै हल खोजिने पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?