निर्वाचन आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेश गरेको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियासहित आयोगका पदाधिकारीहरुले आइतबार राष्ट्रपति भवन शीतल निवास पुगेर आयोगको प्रतिवेदन पेश गरेका हुन् । माघ ११ मा राष्ट्रिय सभा सदस्य निर्वाचन भएको थियो ।
सो क्रममा राष्ट्रपति पौडेलले आचारसंहिताको पालना लगायतका विषयमा राजनीतिक दलहरूसँग छलफल गरी निर्वाचन आयोगले निर्वाचनलाई अझ स्वतन्त्र, धाँधलीरहित र निपक्ष बनाउन आवश्यक रहेको सुझाव दिएका थिए ।
राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचन एनको दफा ६० बमोजिम राष्ट्रिय सभा सदस्य निर्वाचन २०८० को निर्वाचन परिणामसहितको प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष पेश गरेको जानकारी दिइन् ।
फागुन २० गतेदेखि राष्ट्रियसभाको ६ वर्षे कार्यकाल समाप्त भएर रिक्त २० सिटमध्ये १९ सिटका लागि माघ ११ गते निर्वाचन सम्पन्न भएको थियो ।