प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रिय सभा सदस्यको निर्वाचनमा मतदान नगर्ने जनप्रतिनिधिको भूमिकाप्रति आपत्ति जनाएका छन् ।
उनले स्थानीय तह र प्रदेशसभाका जनप्रतिनिधिहरु स्वयम् मतदाता रहेको निर्वाचनमा समेत मत बदर भएको भन्दै त्यसलाई समेत आयोगले गम्भीरतापूर्वक लिएको बताए ।
आइतबार राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले यस्तो बताएका हुन् । ‘जनप्रतिनिधिहरुले निर्वाचनमा भाग नलिने र मतदानको अधिकारको उपयोग नगर्ने कुरालाई सामान्यरुपमा लिन सकिदैन, यो कुरामा निर्वाचन आयोगको आपत्ति छ,’ थपलियाको भनाइ थियो ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले मौन अवधि चलिरहेका बेला दलहरुले आचारसंहिता विपरीत गतिविधि गरेकोप्रति समेत असन्तुष्टि जनाएका थिए ।
‘राजनीतिक दलहरुबाट आचारसंहितालाई गम्भीरतापूर्वक नलिएको देखिन्छ । नेताहरुले मौन अवधिमा चियापान कार्यक्रम राख्ने, भीड जम्मा गरेर भेटघाट गर्ने जस्ता राजनीतिक गतिविधि नगरिदिएको भए मौन अवधिको अर्थ रहन्थ्यो,’ उनको भनाइ थियो ।
११ माघमा भएको निर्वाचनमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ लगायत केही जनप्रतिनिधिहरुले निर्वाचनलाई बेवास्ता गरेका थिए ।