एकपछि अर्को संरक्षण क्षेत्रमा जलविद्युत् आयोजना निर्माणको लहर चल्न थालेको छ । अब हिमाली जिल्ला मनाङमा पहिलो पटक राष्ट्रिय प्रसारण लाइनमा जोडिने गरी जलविद्युत् आयोजना निर्माण हुने भएको छ ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को संरक्षित क्षेत्रमा नै १ सय ३५ मेगावट क्षमताको मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजना निर्माण हुने भएको छ । गएकाे ९ गते बसेकाे मन्त्रिपरिषद्को बैठकले जलविद्युत् आयोजनाको संरचना निर्माणका लागि वन क्षेत्रको जग्गा दिने निर्णय गरेकाे आयोजनाका प्रबन्धक प्रतीक महर्जनले जानकारी दिनुभयो ।
आयोजना निर्माणका लागि मनाङको सदरमुकामसमेत रहेको चामे गाउँपालिकाको १, २, ३ र ५ र नासोँ गाउँपालिकाको ८ र ९ नम्बर वडामा जग्गा प्राप्तिका लागि प्रक्रिया अगाडि बढाइएको आयोजनाका प्रबन्धक एवम् बुटवल पावर कम्पनी (बीपीसी) का प्रबन्धक महर्जनले बताउनुभयो ।
मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाको विकासका लागि सरकारसँग बुटवल पावर कम्पनीसहित तीन वटा चिनियाँ कम्पनीबीच गएको वर्षको पुसमा सम्झौता भएको थियो । चार वर्षमा आयोजना निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको महर्जनले बताउनुभयो । आयोजनामा नेपाली साझेदार बीपीसीले २० प्रतिशत र तीन वटा चिनियाँ कम्पनीको संयुक्तरूपमा ८० प्रतिशत शेयर स्वामित्व रहनेछ । आयोजनाको लागत ३३ अर्ब ३८ करोड रुपैयाँ हुने अनुमान छ । मनाङ मर्स्याङ्दी आयोजनाले मनाङको चामे गाउँपालिकाको कोतोमा अर्धजलाशययुक्त बाँध र नासोँ–८ कम्लोमा ‘पावर हाउस’ बनाउनका लागि कार्यालय स्थापना गरिसकेको छ ।
यसअघि बाग्लुङको ढोरपाटन संरक्षित क्षेत्रमा पनि ८ सय २८ मेगावाट क्षमताको उत्तरगया जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढिसकेको छ ।