![unn.prixa.net](https://unncdn.prixacdn.net/media/albums/cdoletar-723x1024_jbAqnAiURT.jpg)
रामेछाप – रामेछापमा दुई महिनाका लागि निषेधाज्ञा जारी भएको छ ।
प्रमुख जिल्ला अधिकारी अनीता निरौलाले हचुवाका भरमा रामेछापको सदरमुकाम मन्थलीमा हिजोदेखि लागू हुने गरी दुई महिनाका लागि निषेधाज्ञा जारी गर्नुभएको हो । उहाँले जिल्ला सुरक्षा समिति रामेछापको सिफारिसको आधारमा स्थानीय प्रशासन ऐन (संशोधन सहित), २०२८ बमोजिम निषेधाज्ञा जारी गरेको बताउनु भएको छ ।
निषेधाज्ञामा मन्थलीबजारमा रहेकाे राष्ट्रिय वाणिज्य बैङ्कदेखि जिल्ला प्रशासन कार्यालय हुँदै कृषिविकास बैङ्क जाने सडक र त्यस सडकको ५० मिटर वरपरको क्षेत्रमा दुई महिनासम्मका लागि कुनै पनि प्रदर्शन गर्न निषेध गरिएको छ ।
प्रशासनले हचुवाको भरमा निषेधाज्ञा जारी गरेको भन्दै यसको चौतर्फी आलोचना भइरहेको छ । प्रशासनले निकालेको निषेधाज्ञाको सूचनामा पाँच जनाभन्दा बढी व्यक्ति भेला भइ जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन, घेराउ, सभा जस्ता आन्दोलन वा विरोधका कार्यक्रम ,झैझगडा, मुठभेड एवं भिडन्त भइ शान्ति सुरक्षा भङ्ग गर्न नपाइने उल्लेख छ ।