इलामको सूर्योदय नगरपालिकाले ‘नगरको इच्छा छोरी–बुहारीलाई शिक्षा’ कार्यक्रमअन्तर्गत पालिकाभित्रका छोरी र बुहारीलाई छात्रवृत्तिमा पढ्न सहयोग गरिरहेको छ ।
परिवारको सामान्य आर्थिक अवस्थाका कारण उच्च शिक्षा अध्ययनमा समस्या हुनेलाई यो कार्यक्रमले सहयोग पुर्याएको स्थानीयले बताएका छन् । नगरपालिकाले छोरीबुहारीलाई स्नातक पढाएर रोजगारीका लागि सहयोग गर्दै आएको छ ।
पैसाको अभावमा पढाइ छोड्नुपर्ने, पढाइ छोडेकै कारण कम उमेरमा विवाह हुने जस्ता समस्याबाट मुक्त बनाउन पालिकाको यो काम उदाहरणीय भएको सूर्योदय–१ धजेकी सुजता बजगाईँले बताउनुभयो । उहाँले पालिकाको कार्यक्रम अन्तर्गत शतप्रतिशत छात्रवृत्तिमा स्नातक तह उत्तीर्ण गर्नुभएको छ । सूर्योदयले यो कार्यक्रम अन्तर्गत कर्फोक क्याम्पसमा शतप्रतिशत छात्रवृत्ति दिएर छोरी–बुहारीलाई पढाउन थालेको चार वर्ष भएको छ ।
नगरको छात्रवृत्ति कार्यक्रममा अहिलेसम्म एक सय ५३ छोरी–बुहारीले स्नातक अध्ययन गरिसकेका छन् । तीमध्ये २३ जनाले उत्तीर्ण गरेको करफोक क्याम्पस प्रमुख गोपाल कट्टेलले जानकारी दिनुभयो । उहाँका अनुसार यस वर्ष छात्रवृत्तिमा अध्ययन गर्ने छोरी–बुहारीको सङ्ख्या दुई सय पुगेको छ ।