सञ्चार विज्ञहरूले युट्युबसहित सामाजिक सञ्जालको पहुँच बढेको अहिलेको सन्दर्भमा सामाजिक उत्तरदायित्व बढाउनेतर्फ ध्यान केन्द्रित गर्न सुुझाव दिएका छन् । पेसालाई मर्यादित, विश्वसनीय र दिगो बनाउनका लागि सामाजिक उत्तरदायित्वसहितको जिम्मेवार पत्रकारिता गर्न उनीहरुको सुुझाव छ ।
सामाजिक सञ्जालले पत्रकारितामा पारेको प्रभावका विषयमा प्रेस काउन्सिल नेपालले आयोजना गरेको सम्पादक सम्वादमा सहभागी सम्पादकहरूले सामाजिक सञ्जालबाट सञ्चारमाध्यममा देखिएका प्रभाव र चुनौतीलाई सम्बोधन गर्नुपर्नेमा जोड दिए । पत्रकार महासङ्घका पूर्वअध्यक्ष किशोर नेपालले देश र समाजप्रतिको उत्तरदायित्व के हो भन्ने पत्रकारले बिर्सन नहुने बताउनुुभयो ।
पछिल्लो समय समाचारमा नभइ नहुने तत्वको अभाव देखिएको उल्लेख गर्दै उहाँले मूलधारका सञ्चारमाध्यमले समेत अधुरो समाचार दिने गरेको बताउनुभयो । भएका कानुनको समेत कार्यान्वयन नहुँदा सामाजिक सञ्जाल, नयाँ सञ्चारमाध्यम र पत्रपत्रिकामा सङ्कट देखिएको उहाँको भनाइ थियो ।
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले युट्युब प्लेटफर्ममार्फत चलेका मिडियालाई अन्य सञ्चारमाध्यमसरह अनुगमन तथा निगरानी भइरहेको जानकारी दिनुुभयो । नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले युट्युबलगायतका सामाजिक सञ्जालका समाचार सामग्रीमा अनुगमन, नियन्त्रण र सम्पादन नहुँदा समाजमा नकारात्मक असर पर्ने गरेको बताउनुभयो ।
विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईँले कुनै पनि मिडियाले सामग्री सम्प्रेषण गर्दा निःशुल्क गर्न नहुने बताउनुुभयो । सामाजिक सञ्जालमा सिधै विज्ञापन दिएर मिडियामा विज्ञापन घटेको भए पनि त्यसको व्यवस्थापनका लागि आवश्यक कानुन बन्न बाँकी रहेको उहाँको भनाइ थियो ।