कोशी प्रदेशका पहाडी क्षेत्रमा वर्षाको सम्भावना, अरु ठाउँको मौसममा क्रमिक सुधार

आज कोशी प्रदेशका पहाडी क्षेत्रमा हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

काठमाण्डौ उपत्यकासहित बाँकी भूभागको मौसम भने आंशिक बदलीदेखि सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिजो धुम्म रहेको काठमाण्डौसहित धेरै ठाउँको आकाश आज खुलेको छ ।

नेपालमा अहिले पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसमविद् राजु प्रधानाङ्गले बताउनु भयो । उहाँका अनुसार हिजो रुकुम पूर्व, बारा, नवलपरासी, प्युठान र सिन्धुलीमा हल्कादेखि छिटपुट वर्षा भएको थियो ।

आज कोशी प्रदेशका पहाडी क्षेत्रबाहेक अरु ठाउँमा वर्षाको सम्भावना नरहेको उहाँले बताउनु भयो । उहाँकाअनुसार आजदेखि मौसममा क्रमिक सुधार हुँदै जानेछ । मौसमी प्रणाली देशको पश्चिम भेगबाट क्रमशः पूर्वी भेगतिर सरिरहेकाले आज रातिदेखि मौसममा सुधार हुँदै जाने उहाँले बताउनु भयो ।

आज काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम ५ दशमलव ४ डिग्री मापन गरिएको छ । दिउँसोपख काठमाण्डौ उपत्यकाको अधिकतम तापक्रम २१ देखि २३ डिग्री पुग्न सक्ने महाशाखाको अनुमान छ । पछिल्लो केहीदिनयता दिउँसो घाम लाग्न थालेसँगै देशभरको अधिकतम र न्यूनतम तापक्रम बढ्न थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?