विश्व सामाजिक मञ्चमा सहभागीले जलवायु वित्त र जलवायु न्यायका मुद्दालाई नेपालले अन्तर्राष्ट्रियकरण गर्नुपर्नेमा जोड दिएका छन् ।
जलवायु परिवर्तनको असरका कारण नेपालले कुनै पनि बेला ठूलो क्षति भोग्नुपर्ने भन्दै विज्ञले यसबारेमा बेलैमा ध्यान दिनुपर्नेमा जोड दिएका हुन् । जलवायु परिवर्तनको असरबाट हुने क्षति न्यूनीकरणका लागिपालिकामा डिजास्टर लर्निङ सेन्टर स्थापना गर्न आवश्यक रहेको उनीहरुको भनाइ छ ।
कार्यक्रममा गैरसकारी संस्था महासंघका अध्यक्ष रामप्रसाद सुवेदीले नेपालले क्लाइमेट फाइनान्स र क्लाइमेट जस्टिसका कुरालाई अन्तर्राष्ट्रियकरण गर्न आवश्यक रहेको बताउनुभयो ।
केयर नेपालकी प्रतिनिधि मोना शेर्पाले जलवायु परिवर्तनबाट भएको विपद् र जोखिम न्यूनीकरणका लागि स्थानीय स्तरमा भएको ज्ञान, अनुभव, शक्ति, सीपको प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले स्थानीय श्रोत साधनको प्रयोग विना प्रविधिको प्रयोग गरेर र राज्यले मात्रै काम गरेर समस्याको समाधान ननिस्किने बताउनु भयो । अक्सफार्म कार्यक्रम तथा साझेदारी प्रमुख निमा श्रेष्ठले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि स्थानीय शक्तिको प्रयोग गर्न आवश्यक रहेकोमा जोड दिनुभयो ।