प्रस्तावित नाग्मती बाँध (ड्याम) निर्माणको प्रक्रिया अघि बढ्दै गर्दा वातावरणीय पक्ष र जोखिमबारेको चासो बढ्न थालेको छ । वन, जीवजन्तुको बासस्थान, पूर्वाधारले निम्त्याउने सम्भावित जोखिम र सामाजिक पाटोका विभिन्न पक्षको सूक्ष्म अध्ययन नगरि ड्याम निर्माण गर्न हतार गरिएको विज्ञको तर्क छ ।
दातृ निकायको झण्डै २५ अर्ब रुपैयाँ ऋण लगानीमा निर्माण गर्ने भनिएको बाँधले वातावरणका विभिन्न पक्षमा क्षति पुर्याउने उनीहरूको भनाइ छ । ६५ हेक्टर क्षेत्रफल ओगट्ने ९४ मिटर अग्लो नाग्मती ड्याम शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जभित्र निर्माण गर्न वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) स्वीकृतिको चरणमा छ ।
ईआईए वन तथा वातावरण मन्त्रालयले स्वीकृत गर्नुपर्ने कानुनी प्रावधान छ । वन मन्त्रालयका पूर्व सचिव एवम् वातावरणविद् उदयराज शर्माले निकुञ्ज क्षेत्र मास्ने गरी अघि बढेको यो सबैभन्दा खराब परियोजना रहेको बताउनुभयो । उहाँले प्रक्रियामा त्रुटि रहेको र हचुवाका भरमा यस्ता परियोजना बनाउनु नहुने बताउनुभयो ।
वन मन्त्रालयले हालै सार्वजनिक गरेको कार्यविधि संरक्षित क्षेत्र अतिक्रमण गर्ने योजनासहित बनेको संरक्षणकर्मीको आरोप छ । वातारणविद् श्रवण शर्माले ८० हजारभन्दा धेरै रूख काट्ने गरी निर्माण हुने बाँधले उपत्यकामा पानीको स्रोतलाई क्षति पुर्याउने बताउनुभयो । यो ड्याम बनेपछि सुक्खायाममा बाग्मतीमा प्रतिसेकेन्ड ४ सय ५० लिटरका दरले पानीको बहाव बढाउन सकिने नाग्मती आयोजनाका प्राविधिकहरूको तर्क छ ।
बाग्मती सुधार आयोजनाका इञ्जिनियर निश्चल छतकुली विभिन्न देशहरूमा भएका ड्यामको वातावरणीय पक्ष र निर्माणका विभिन्न पक्ष अध्ययन गरेर यो परियोजना अघि बढेको दाबी गर्नुभयो ।