सोलुखुम्बुको पर्यटकीय क्षेत्र नाम्चे र खुम्जुङ क्षेत्रमा १५ दिनदेखि बिजुली अवरुद्ध छ ।
गएको माघ २२ गते हावाहुरीले ढलेको रुखले खुम्बु विद्युत् कम्पनीको पोल र जमिनमुनिको तारमा क्षति पुगेपछि बिजुली सेवा ठप्प बनेको हो । यसबाट सगरमाथा क्षेत्र भ्रमणका लागि नाम्चे र खुम्जुङ क्षेत्र पुग्ने स्वदेशी तथा विदेशी पर्यटक समस्यामा परेका छन् ।
खुम्बुमा पर्यटकीय याम शुरु भएकाले अहिले दैनिक एक सय जना हाराहारीमा विदेशी पर्यटक खुम्बु पुग्ने गरेका पर्यटक प्रहरी कार्यालय नाम्चेले जनाएको छ । बिजुली नहुँदा सञ्चार सेवा पनि ठप्प भएकाे र एटीएम सेवासमेत प्रभावित बनेको इलाका प्रहरी कार्यालय नाम्चेका प्रहरी निरीक्षक कविन राईले बताउनुभयो ।