अब बूढानीलकण्ठ क्षेत्रमा पनि उपत्यका प्रहरीले प्रत्यक्ष निगरानी गर्ने

काठमाण्डाैकाे बूढानीलकण्ठ क्षेत्रमा पनि अब उपत्यका प्रहरीले प्रत्यक्ष निगरानी शुरु गरेको छ ।

प्रविधिमैत्री प्रहरीको अवधारणाबमोजिम बूढानीलकण्ठका विभिन्न क्षेत्रमा ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) मा आधारित एक सय ८१ वटा सीसीटीभी क्यामेरा जडान भएसँगै अब त्यहाँका गतिविधि उपत्यका प्रहरीको नियन्त्रण कक्षबाट प्रत्यक्षरूपमा निगरानी हुन लागेको हो ।

‘सुरक्षित काठमाण्डाै उपत्यका : हाम्रो प्रतिबद्धता’ भन्ने अभियानलाई साकार पार्न काठमाण्डाै उपत्यका प्रहरी कार्यालय रानीपोखरी र बूढानीलकण्ठ नगरपालिकाको संयुक्त प्रयासमा सीसीटीभी क्यामेरा जडान भई आज उद्घाटन भएको हो ।

गएको वैशाख १२ गते पाँच करोडमा सम्झौता भई सीसीटीभी क्यामेरा जडान शुरु भएको थियो । काठमाण्डाै उपत्यका प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापा र बूढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीले संयुक्तरूपमा सीसीटीभी क्यामेराको उद्घाटन गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?