भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले नारायणगढ–बुटवल सडक विस्तार निर्धारित समयमा पूरा गर्न ठेकेदार कम्पनी चाइना स्टेट कन्स्ट्रक्शन इन्जिनियरिङ कर्पोरेशन लिमिटेड (सीएससीईसी) लाई पुनः निर्देशन दिनुभएको छ । उहाँले थपिएको समयभित्र काम सम्पन्न नभए अब म्याद नथपिने पनि स्पष्ट पार्नुभएको छ ।
पश्चिम नवलपरासी क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद विनोद चौधरीको विशेष पहलमा मन्त्री, चिनियाँ ठेकेदार, सडक विभागका महानिर्देशक, सांसद र पालिकाका जनप्रतिनिधिसमेतको बैठकमा मन्त्री ज्वालाले अब कुनै कारणले यो परियोजनामा ढिलाइ भएमा सहन नसक्ने चेतावनी पनि दिनुभयो ।
बैठकको संयोजन गर्नुभएका सांसद विनोद चौधरीले ठेकेदारले हरेक महिना लक्ष्यअनुसार काम गर्नुपर्ने र लक्ष्य पूरा नगरे उसको रकमबाट कट्टा हुनेगरी अर्को ठेकेदारलाई जिम्मेवारी दिने व्यवस्था मिलाउन मन्त्रीलाई आग्रह गर्नुभयो । उहाँले नारायणगढ–बुटवल सडक तत्काल मर्मत गरी सहजरूपमा गाडी आवतजावत हुने वातावरण बनाउन पनि माग गर्नुभयो ।
ठेकेदार कम्पनीका प्रतिनिधिले आउँदो फागुन मसान्तभित्र बर्दघाट–सुनवल बजार क्षेत्रमा कालोपत्र गरिसक्ने जानकारी दिएका छन् । पटक पटक म्याद थपेर नारायणगढ–बुटवल सडक निर्माणको ठेक्का सम्झौतालाई आउँदो सेप्टेम्बर महिनासम्म पुर्याइएको छ । तर थपिएको यो मितिमा पनि काम सम्पन्न हुने सम्भावना छैन । सडक बेहाल हुँदा स्थानीयवासी र यात्रु हैरान भएका छन् ।