तानसेन महोत्सव, ६१ लाख आम्दानीको झुठ प्रचार

३० हजार वाट क्षमताको साउण्ड सिस्टममा पनि चर्को आवाजमा बोलेका तानसेन नगरपालिकाका मेयर सन्तोषलाल श्रेस्ठले तानसेन महोत्सवको समापन समारोहमा भने, ‘मेलामा ६१ लाख रुपैँया कमाएका छौँ, टुँडिखेलको भ्यालु ६१ लाखको भयो ।’ ६१ लाखमा ठेक्का दिएका कारण त्यो रकम नगरपालिकामा आएको बताइएको छ । तर ‘ठेक्का दिएपछी हाम्रो कुनै आर्थिक भुमिका छैन सबै राजधानी राईड्स काठमाण्डुको काम हो’ भनेर तर्क गरिरहेको नगरपालिकाले मेला संचालनका लागि कार्यपालिका बैठकबाट १७ लाख खर्च गर्ने निर्णय गरेको सत्य भने लुकाएको छ ।

नगरपालिकाको फागुन २९ गते बिहान बसेको कार्यपालिकाको बैठकले रोजगार र कृषि मेला सहितको शिर्षकबाट १७ लाख खर्च गर्ने निर्णय गरेको हो । नगरपालिकाले सोही रकमको खर्च गर्न पहिलेनै चलाख्याँई गरेर महोत्सवको ब्यानरमा कृषि र रोजगार सब्द समेत उल्लेख गरेको छ ।

तानसेन नगरपालिकाका प्रवक्ता यादवसिह कार्कीले महोत्सवको उद्घाटन र समापन तथा प्रतियोगितात्मक कार्यक्रम संचालनका लागि नगरपालिकालेनै खर्च गर्ने सम्झौता भएको र त्यसको लागि कार्यपालिकाको बैठकबाट खर्च गर्ने निर्णय भएको बताए । यसले पुस्टि गर्छ कि तानसेन महोत्सवबाट नगरपालिकाले ६१ लाख हैन ४४ लाख मात्रै आर्जन गर्नेे छ । खर्चको सबै हिसाव आइनसकेकाले खर्च थपघट हुन सक्नेछ ।

ठेकेदारको ६१ लाख आयो, तानसेनको करोडौँ गयो
नगरपालिका उप प्रमुख प्रतिक्षा सिंजालीको भनाईलाई आधार मान्ने हो भने महोत्सवमा ८ करोड रुपैँयाको कारोवार भएको छ । सबै ब्यवस्थापन र ८० प्रतिशत अर्थात २ सय ४० स्टल जिल्ला बाहिरका भएकाले त्यसमा कारोवार भएको करोडौँ रकम जिल्ला र देश बाहिर गएको छ । तानसेनका नागरिकको करोडौँ रकम बाहिर गएर ६१ लाख राजश्व संकलन हुँदा नगरपालिका कसरी उपलब्धीमुलक काम गरेको ठानिरहेको छ यसमा आम मानिसहरु आश्चर्थ चकित छन ।

तानसेनकै नागरिकको संबृद्घिका लागि गरिएको भनिएको महोत्सवले नगरकै मानिसहरुको पुँजी बाहिर पठाएको छ जुन यस अघि उद्योग वाणिज्य संघ र ब्यापार संघले संचालन गर्ने ब्यापार मेलाले गर्दथ्यो ।

नगरपालिकालाई मेला, थप झमेला
तानसेन नगरपालिकालाई मेला अर्को थप झमेलाको रुपमा देखा परेको छ । आयोजना पुर्वको तयारी, चलिरहँदाको काम र मेला पश्चातको तयारीले नगरपालिकाले आफनो भुमिकाको पाठ बिर्सेको छ । सेवाग्राहीहरु मर्कामा परेका छन । चालु आर्थिक वर्षका लागि १ अर्व २ करोड ८० लाख ६४ हजार ३ सय ६७ रुपैँयाको बजेट बनाएको नगरपालिकाले १ वर्षमा झण्डै ९० दिन हुने बिदा कटाउँदा २ सय ७५ दिन काम गर्न पाउँछ । उसले १ दिनमा ३७ लाख ३८ हजार ४ सय १५ रुपैँया बराबरको कार्य सम्पादन गर्नुपर्ने हुन्छ । विकास, शुशासन र सेवा प्रवाहमा खर्च गर्नुपर्ने समयमा नगरपालिकाले आफ्नो आगनमा आँफैलाई काम गर्न डिस्ट्रव गरेको छ ।

तानसेन नगरपालिका वडा न ९ का अध्यक्ष राजेश कुमार अर्यालले मेला महोत्सव स्थानीय सरकारले आयोजना गर्न नहुने बताउँछन । ‘राजश्व संकलनका लागि, टिकट, बाल उद्यान र प्रायोजकबाट रकम आईहाल्छ, यस्तो प्रकृतीको मेला हामिले आयोजना गर्ने कुरा हैन वडा अध्यक्ष अर्यालले भने, ‘हामीले ध्यान दिनुपर्ने गर्नु पर्ने काम धेरै छन ।’ राजश्व उठ्नु भन्दा महत्वपुर्ण कुरा काम हुनु र सम्बन्धित क्षेत्रमा परिवर्तन हुनु जनताका लागि महत्वपुर्ण भएको उनको भनाई छ ।
–नारायण न्यौपाने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?