२९ पुस, काठमाडौं । प्रहरी कर्मचारीकै संलग्नतामा नक्कली सवारी दुर्घटना खडा गरी बीमा रकम ठगी गरिएको खुलेको छ । प्रहरी वृत्त नयाँ बानेश्वरको अनुसन्धानपछि करिब एक करोड रुपैयाँ बराबरको ठगी प्रकरण सार्वजनिक भएको हो ।कीर्ते कागजात बनाएर बीमाबाट रकम असुल्ने गिरोहविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । प्रहरी, बीमा कर्मचारी, चालक र सवारी धनीसहित ३१ जनाविरुद्ध कीर्ते र ठगीको अभियोग लगाइएको छ ।
न्यायाधीश ईश्वरीप्रसाद भण्डारीको इजलासमा प्रतिवादीको बयान चलिरहेको छ । बयानपछि थुनछेक बहस हुने बताइएको छ ।प्रकरणमा पर्सा ठोरीका ४४ वर्षीय हरि बुढाथोकी मात्र पक्राउ परेका छन् । १ पुसमा पक्राउ परेका बुढाथोकीको साथबाट नक्कली दुर्घटनासम्बन्धी कागजात बरामद भएपछि अनुसन्धान अघि बढेको थियो ।
प्रहरी हवल्दारसहित ३० जना प्रतिवादी भने फरार छन् ।





