रिणीमा इन्जिन डुङ्गामा पर्यटकको आकर्षण तर अनुमति बिना सञ्चालन

कञ्चन पानीले भरिएको तालको चारैतिर राष्ट्रिय झण्डा सजाइएको छ। शान्त देखिने तालको बीचभागमा दुईवटा इन्जिन बोट ८–१० जना यात्रु बोकेर राष्ट्रिय झण्डा फहराउँदै निरन्तर घुमिरहेका देखिन्छन्। तालको किनारमा उभिएर इन्जिन बोट चढ्ने पालो कुरिरहेका पर्यटकहरूको नजर बोटतर्फ केन्द्रित छ। बोट तालको एक छेउबाट अर्को छेउ पुग्दा मानिसहरूको चहलपहल बढ्छ भने कतिपयले मोबाइलबाट दृश्य कैद गरिरहेका छन्। यही दृश्यबीच प्रतीक्षामा रहेका केही पर्यटकहरू आपसमा हाँस्दै “केपी ओलीले भनेको पानीजहाज यही हो केटाहो” भन्ने टिप्पणी गरिरहेका सुनिन्छ, जसले ताल किनारको वातावरणलाई थप रोचक र चर्चित बनाएको छ।

पाल्पा, स्याङ्जा र गुल्मी जिल्लाको संगमस्थल रिणी यतिबेला इन्जिन डुङ्गा (इन्जिन बोट) सञ्चालनका कारण आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बनेको छ। माघे सङ्क्रान्ति मेलालाई लक्षित गरी निर्माण गरिएको कञ्चन पानीको कृत्रिम जलाशयमा सञ्चालनमा ल्याइएको यो जलयात्राले रिणी क्षेत्रको पर्यटन गतिविधिमा नयाँ रौनक थपेको स्थानीयहरूको भनाइ छ।

रिणी क्षेत्रमा माघे सङ्क्रान्ति मेलाका अवसरमा आउने आन्तरिक पर्यटकलाई लक्षित गर्दै कृत्रिम जलाशय निर्माण गरी इन्जिन बोट सञ्चालन गरिएको हो। यसप्रति त्यहाँ पुग्ने पर्यटकहरू आकर्षित देखिएका छन्। रिणी क्षेत्रकै ९ जना युवाहरूको संयुक्त लगानीमा करिब १ करोड रुपैयाँ बराबरको पूँजीबाट यो उद्यम सुरु गरिएको हो।

सञ्चालकहरूका अनुसार जापानी प्रविधिमा आधारित इन्जिन बोट खरिद गर्न करिब ५४ लाख रुपैयाँ खर्च गरिएको छ। यस्तै, करिब ३५ लाख रुपैयाँ लागतमा रिणी खोलाको तटबन्ध, किनार व्यवस्थापन तथा जलाशय निर्माणका संरचनात्मक काम सम्पन्न गरिएको छ।

चार धाममध्ये एकका रूपमा चिनिने रिणी, पुरानो व्यापारिक केन्द्र तथा तीनमुखे पुलको ऐतिहासिक र पर्यटकीय महत्वलाई थप उजागर गर्ने उद्देश्यसहित कोरियाबाट फर्किएका रबिलाल पन्थको नेतृत्वमा यो पहल सुरु गरिएको हो। पन्थले भने, “यो व्यवसाय मात्रै होइन, रिणीलाई व्यवस्थित पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने हाम्रो दीर्घकालीन सोच हो।”

उनका अनुसार खोलाको सदुपयोग, किनार व्यवस्थापन र जलयात्रा सञ्चालन गर्दा स्थानीयस्तरमा रोजगारी सिर्जना भएको छ। “पर्यटन प्रवद्र्धनमा टेवा पुगेको छ, रिणीको चर्चा चुलिएको छ र युवाहरूलाई आफ्नै ठाउँमा केही गर्न सकिन्छ भन्ने सन्देश गएको छ,” पन्थले बताए।

हाल १० सिट क्षमताका दुईवटा इन्जिन बोट सञ्चालनमा छन्। एक यात्रुलाई अधिकतम ५ मिनेटसम्म जलाशय घुमाइन्छ। प्रति व्यक्ति ३०० रुपैयाँ टिकट शुल्क तोकिएको छ। तर केही पर्यटकहरूले टिकट मूल्य अस्वाभाविक रूपमा महँगो भएको प्रतिक्रिया दिएका छन्।

पाल्पाको तानसेनबाट रिणी पुगेकी कृस्टिना रेग्मीले भनिन्, “सानो जलाशयमा केही मिनेट घुमाएर ३०० रुपैयाँ लिनु महँगो हो।” उनले थपिन्, “देशको झण्डा फहराउँदै कञ्चन पानीमा बोटमा यात्रा गर्दा रमाइलो त हुन्छ, तर शुल्कले सबैलाई सहज बनाउँदैन।”यसैगरी अन्य केही पर्यटकहरूले पनि छोटो समयको यात्राका लागि टिकट दर पुनरावलोकन गर्नुपर्ने धारणा राखेका छन्।

माघ १ गतेदेखि सुरु गरिएको यो जलयात्रा भने हालसम्म अनुमति बिना सञ्चालन भइरहेको पाइएको छ। रुरु ताल रिणी एड्भेन्चर प्रालिले सम्बन्धित निकायबाट आवश्यक कानुनी प्रक्रिया पूरा गर्न बाँकी रहेको जनाएको छ।

जिल्ला प्रशासन कार्यालय गुल्मीका निमित्त प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले भने, “हामीले सुरक्षित तरिकाले सञ्चालन गर्न निर्देशन दिएका छौँ र प्रत्यक्ष अनुगमन समेत गरेका छौँ।” उनले थपे, “सञ्चालनको आधिकारिकता हेरिनेछ, तर हाललाई यात्रुको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर सञ्चालन गर्न भनिएको छ।”

यस विषयमा प्रालिका सदस्य सुन्दर भण्डारीले भने, “यात्रुहरूका लागि लाइफ ज्याकेट अनिवार्य गरिएको छ, सिट क्षमताको कडाइका साथ पालना गरिएको छ र यात्रुहरूको बीमा समेत गरिएको छ।” उनले निकट दिनमै सबै कानुनी प्रक्रिया पूरा गरी औपचारिक स्वीकृति लिइने जानकारी पनि दिए।

सञ्चालकहरूका अनुसार हाल परीक्षण चरणका रूपमा इन्जिन बोट सञ्चालन गरिएको हो। आवश्यक अनुमति प्राप्त भएसँगै व्यवस्थित, सुरक्षित र दीर्घकालीन रूपमा जलयात्रा सञ्चालन गर्ने तयारी रहेको उनीहरूको भनाइ छ।

-नारायण न्यौपाने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?