स्थानीय तहमा सफल नेतृत्वको छाप छोड्दै कालीगण्डकी गाउँपालिकाको कायापलट गरेका खिमबहादुर थापा अहिले स्याङजा–२ बाट प्रतिनिधिसभा सदस्यका लागि एक प्रभावशाली उम्मेदवारका रूपमा देखिएका छन् । नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका थापाले गाउँपालिका अध्यक्षका रूपमा दुई कार्यकाल पूरा गर्दै विकास, सेवा प्रवाह र सुशासनका क्षेत्रमा उदाहरणीय काम गरेको व्यापक जनधारणा छ ।
कालीगण्डकी गाउँपालिकामा थापाको नेतृत्वका कारण विकाससँगै नागरिकको जीवनस्तरमा प्रत्यक्ष परिवर्तन आएको स्थानीयवासी बताउँछन् । केही साता अघि सम्पन्न गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रममा नेपाली कांग्रेसका पालिका तहका नेताहरूले समेत थापाको खुलेर प्रशंसा गरेका थिए । फरक दलका नेताबाट समेत आलोचना गर्न सकिने खास आधार नदेखिनु र विकासप्रति सकारात्मक मूल्याङ्कन हुनु थापालाई स्याङजा–२ को बलियो उम्मेदवार बनाउने प्रमुख कारणका रूपमा हेरिएको छ ।
स्वास्थ्य र शिक्षा ः जनमुखी नीतिको उदाहरण
थापाको कार्यकालको सबैभन्दा महत्वपूर्ण उपलब्धिका रूपमा स्वास्थ्य सेवा विस्तारलाई लिइन्छ । कालीगण्डकी अस्पताल, मिर्मीमा पालिकाबासीलाई निःशुल्क उपचारको व्यवस्था गरिएको छ । सामान्यदेखि धेरै रोगको उपचार सेवा निःशुल्क उपलब्ध गराइएकाले गरिब तथा विपन्न वर्गका नागरिकले ठूलो राहत महसुस गरेका छन् । यससँगै प्रत्येक घरधुरीलाई निश्चित युनिटसम्मको विद्युत् महसुल पालिकाले व्यहोर्ने व्यवस्था लागू गरिएको छ, जसले दैनिक जीवनको खर्च घटाउन सहयोग पु¥याएको छ ।
शिक्षा क्षेत्रमा थापाले परम्परागत ढाँचाभन्दा फरक सोच अघि सारे । सामाजिक कक्षा सहितको विशेष अवधारणामा विद्यालय सञ्चालन गरियो । विद्यार्थीहरूको मानसिक र नैतिक विकासमा जोड दिँदै प्रत्येक दिन प्रार्थना समयमा सकारात्मक सोच, अनुशासन र जीवन उपयोगी शिक्षा प्रदान गर्ने अभ्यास सुरु गरिएको छ । विद्यालयहरू बिहान ९ः५० बजे सुरु हुने र शुक्रबार अतिरिक्त क्रियाकलाप नभएको अवस्थामा साँझ ४ बजेसम्म नियमित कक्षा सञ्चालन हुने व्यवस्थाले शैक्षिक गुणस्तर सुधारमा सहयोग पुगेको शिक्षाकर्मीहरूको भनाइ छ ।
पूर्वाधार, सामाजिक सुरक्षा र संस्कृति संरक्षण
कालीगण्डकी गाउँपालिकामा थापाको नेतृत्वमा आधारभूत पूर्वाधार विस्तारले तीव्रता पायो । प्रत्येक घरमा पक्की गोरेटो बाटो, सुरक्षित खानेपानी जस्ता सुविधा विस्तार गरिए । ग्रामीण क्षेत्रमा लामो समयदेखिको समस्या मानिएको पहुँच र सुविधा अभाव क्रमशः हट्दै गयो ।
सामाजिक सुरक्षाको क्षेत्रमा पनि पालिकाले नवीन कार्यक्रम अघि बढायो । तीन सन्तान जन्माउने परिवारलाई मासिक भत्ता उपलब्ध गराउने नीति लागू गरियो । यसले जनसंख्या व्यवस्थापन र सामाजिक सुरक्षालाई सँगसँगै सम्बोधन गर्ने प्रयासको रूपमा चर्चा पायो। भाषा, संस्कृति र स्थानीय पहिचानको संरक्षण तथा प्रवद्र्धनमा पनि अध्यक्ष थापाले सक्रिय भूमिका खेलेका छन् । स्थानीय संस्कार, पर्व र पहिचानलाई संस्थागत रूपमा जोगाउने प्रयासले पालिकामा सांस्कृतिक चेतना बढाएको स्थानीयको अनुभव छ ।
कृषि र आर्थिक गतिविधिमा नयाँ अभ्यास
थापाको कार्यकालमा कालीगण्डकी गाउँपालिकाले कृषि र आर्थिक क्षेत्रमा नयाँ अभ्यास सुरु ग¥यो। पालिकाले सामूहिक ड्रागन फ्रुट खेतीमार्फत आम्दानी गरेको कार्य राष्ट्रियस्तरमै उदाहरणीय बन्यो। यसबाट पालिकाले मात्र होइन, स्थानीय किसानहरूले पनि नयाँ सम्भावना देख्न थाले ।
कृषकहरूलाई पुष्प खेतीका लागि प्राविधिक र आर्थिक सहयोग उपलब्ध गराइएकाले धेरै किसान व्यवसायिक पुष्प खेतीतर्फ आकर्षित भए। यसले गाउँमै रोजगारी र आम्दानीको स्रोत सिर्जना ग¥यो । पालिकाले आफैं बाँझो जमिनमा तरकारी खेती गर्ने अभियान सञ्चालन ग¥यो भने आगामी दिनमा मल कारखाना सञ्चालन गर्ने योजना समेत अघि बढाइएको छ, जसले कृषिमा आत्मनिर्भरता बढाउने अपेक्षा गरिएको छ ।
अनुभव र राजनीतिक यात्रा
स्थानीय तह अघि थापाले दुग्ध विकास संस्थानको नेतृत्व गर्दै पनि उल्लेखनीय काम गरेका थिए । संस्थागत सुधार र व्यवस्थापनमा देखाएको क्षमताका कारण उनी पहिल्यै परिचित थिए। हालै सम्पन्न नेकपा एमालेको महाधिवेशनबाट उनी केन्द्रीय सदस्यमा निर्वाचित भइसकेका छन्, जसले पार्टीभित्र उनको राजनीतिक हैसियत र प्रभावलाई अझ बलियो बनाएको छ ।
स्याङजा–२ को चुनावी प्रतिस्पर्धा
स्याङजा–२ मा थापासँगै नेपाली कांग्रेसबाट भागवतप्रकाश मल्ल, नेपाल कम्युनिस्ट पार्टीबाट पदम विक, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रविन पाठक र माओवादी (विप्लव) बाट ध्रुव गौडेल उम्मेदवार बनेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उम्मेदवार भने अझै टुंगो लाग्न बाँकी छ ।
स्थानीय तहमा देखिएको कार्यसम्पादन, फरक दलका नेताबाट समेत प्राप्त प्रशंसा र स्पष्ट विकास एजेन्डाका कारण खिमबहादुर थापा स्याङजा–२ मा यसपटकको चुनावी प्रतिस्पर्धामा एक बलियो र चर्चित उम्मेदवारका रूपमा उभिएका छन्।
-नारायण न्यौपाने





