रास्वपाका उम्मेदवार डा. माधव थापाप्रति जनताकोे समर्थन बढ्दै

पाल्पा–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. माधव थापाले चुनावी अभियानलाई तीव्र बनाएका छन् । उनले दिनहुँ घरदैलो कार्यक्रममार्फत मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै जनताका समस्या, अपेक्षा तथा आफ्ना भावी योजनाबारे स्पष्ट रूपमा जानकारी गराइरहेका छन्।

रास्वपा पाल्पाका सभापति विष्णु भण्डारीका अनुसार डा. थापाको अभियान जनमुखी र प्रभावकारी बन्दै गएको छ। उनले भने, “डा. माधव थापा इमान्दार, सक्षम र सेवाभाव भएका व्यक्ति हुनुहुन्छ। उहाँले चिकित्सकको रूपमा वर्षौंदेखि जनताको निःस्वार्थ सेवा गर्नुभएको छ। अहिले उहाँ राजनीति मार्फत पनि जनताको पक्षमा उभिन चाहनुहुन्छ। घरदैलो अभियानका क्रममा उहाँले जनताको कुरा धैर्यपूर्वक सुन्नुहुन्छ र समाधानका लागि प्रतिबद्धता व्यक्त गर्नुहुन्छ। यसैले जनतामा उहाँप्रति विश्वास बढ्दै गएको छ।”

उम्मेदवार डा. माधव थापाले आँफूले अहिलेसम्म स्वास्थ्य क्षेत्रमार्फत जनताको सेवा गर्दै आएको र अब राजनीति मार्फत समाज परिवर्तनको अभियानमा लाग्ने निर्णय गरेको बताएका छन्। उनले भने, “मैले जीवनको धेरै समय बिरामीको उपचार र सेवामा बिताएँ। जनताको पीडा नजिकबाट देखेँ र महसुस गरेँ। अब यही अनुभवलाई राजनीतिमा प्रयोग गरेर इमानदार शासन व्यवस्था स्थापना गर्न चाहन्छु। राजनीति पद र प्रतिष्ठाका लागि होइन, जनताको हितका लागि हो भन्ने मान्यताका साथ म अगाडि बढेको छु।”

भेटघाटका क्रममा स्थानीय मतदाताहरूले पनि पुराना राजनीतिक दलप्रति असन्तुष्टि व्यक्त गर्दै नयाँ शक्तिलाई अवसर दिनुपर्ने धारणा राखेका छन्। बगनासकाली गाउँपालिका–१ चिलाङ्दीका रामप्रसाद ढुङ्गानाले यसपटक रास्वपालाई समर्थन गर्ने निर्णय लिएको बताएका छन्। उनले भने, “म लामो समयदेखि नेपाली कांग्रेसको समर्थक हुँ। तर वर्षौंदेखि देखिएका बेथिति, भ्रष्टाचार र जनताको आवाज नसुन्ने प्रवृत्तिले मलाई निराश बनाएको छ। हामीले उनीहरूबाट केही फाइदा लिएका छैनौँ। देश र समाज बदल्न अब नयाँ शक्तिलाई एकपटक मौका दिनैपर्छ भन्ने मेरो विश्वास हो। त्यसैले यसपटक घण्टी चिन्हमा मतदान गर्ने निर्णय गरेको हुँ।”

स्थानीयवासीहरूका अनुसार डा. थापाको सरल स्वभाव, इमानदार छवि र स्पष्ट दृष्टिकोणले गर्दा युवादेखि वृद्धसम्ममा सकारात्मक सन्देश प्रवाह भइरहेको छ। आगामी निर्वाचनमा पाल्पा–२ मा रास्वपाको उपस्थितिलाई प्रभावकारी रूपमा हेरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?