चितवन–१ का कांग्रेस र एमाले उम्मेदवार एकै मञ्चमा, चुनावी सौहार्दताको उदाहरण

देशका विभिन्न भागमा उम्मेदवारबीच आरोप–प्रत्यारोप र असहिष्णु व्यवहार देखिइरहेका बेला चितवन निर्वाचन क्षेत्र नम्बर १ का दुई उम्मेदवारले भने चुनावी सौहार्दताको सकारात्मक उदाहरण प्रस्तुत गरेका छन्।

नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्रप्रसाद बुर्लाकोटी र नेकपा एमालेका उम्मेदवार दावा दोर्जे लामा सहिद दिवसको अवसरमा एकै मञ्चमा उभिँदै जीत–हार जस्तोसुकै परिणाम आए पनि आपसी सम्बन्ध नबिग्रिने प्रतिबद्धता जनाएका छन्।

वीरेन्द्रनगरस्थित जनआदर्श बहुमुखी क्याम्पसको प्राङ्गणमा रहेको सहिद बलराम कँडेलको सालिकमा माल्यार्पण गर्न दुवै उम्मेदवार सहभागी भएका थिए। उक्त अवसरमा आयोजकले दुवैलाई मन्तव्य राख्ने अवसर दिएका थिए।

मन्तव्यका क्रममा कांग्रेस उम्मेदवार बुर्लाकोटीले निर्वाचन प्रतिस्पर्धामा रहे पनि दुवैबीच राम्रो सम्बन्ध रहेको बताए। उनले चुनावको परिणाम जे भए पनि दावा लामासँगको सम्बन्ध कायम रहने र स्थानीय तहमा मिलेर काम गर्ने स्पष्ट पारे।

एमाले उम्मेदवार दावा दोर्जे लामाले पनि स्वस्थ प्रतिस्पर्धाको पक्षमा आफूहरू रहेको बताए। उनले छ महिनाअघि नै सम्भावित चुनावी प्रतिस्पर्धाबारे भएको कुराकानी स्मरण गर्दै भने,
“उहाँले जित्नुभयो भने म फूलमाला लगाएर स्वीकार गर्छु, जनताले मलाई जिताए भने उहाँले पनि त्यसै गर्नुहुन्छ। हामी प्रतिस्पर्धा गर्छौँ, तर मिलेरै अगाडि बढ्छौँ।”

चितवन–१ का यी दुई उम्मेदवारको व्यवहारले चुनावी प्रतिस्पर्धासँगै सहकार्य र सम्मान पनि सम्भव हुन्छ भन्ने सन्देश दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?