पाल्पामा ४० भन्दा बढी नेता–कार्यकर्ता रास्वपामा प्रवेश, जनलहर तीव्र

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति जनलहर तीव्र रूपमा बढ्दै गएको छ। पछिल्लो समय देशभर विभिन्न राजनीतिक दलमा सक्रिय भूमिका निर्वाह गरिरहेका नेता–कार्यकर्ता तथा आम सर्वसाधारणहरू रास्वपामा आकर्षित हुँदै खुल्न थालेका छन्।

यसैक्रममा पाल्पामा पनि विभिन्न राजनीतिक दलमा आबद्ध व्यक्तिहरू रास्वपामा समाहित भएका छन्। आइतबार तत्कालीन नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश सदस्य कृष्ण भुसाल, तत्कालीन समाजवादी नेपालका बगनासकाली गाउँपालिका अध्यक्ष टोपराज बस्याल, समाजवादीका सचिवालय सदस्य निमनारायण ढुंगानासहित ४० भन्दा बढी व्यक्ति रास्वपामा प्रवेश गरेका हुन्।

बगनासकाली–९ चापपानीका वडा सदस्यसमेत रहेका कृष्ण भुसाललगायतको समूह ‘जेन्जी आन्दोलन’का क्रममा आ–आफ्ना पार्टी परित्याग गरी निष्क्रिय बनेको थियो। भुसालका अनुसार विभिन्न राजनीतिक दल परित्याग गरेका तथा दलमा निष्क्रिय रहेका व्यक्तिहरू मिलेर स्वतन्त्र समूह बनाइएको थियो, र आइतबार उक्त समूह सामूहिक रूपमा रास्वपामा समाहित भएको हो।

लामो समयदेखि सक्रिय राजनीति तथा सामाजिक कार्यमा क्रियाशील भुसाल, ढुंगाना लगायतका नेताहरूले नयाँ पुस्तालाई साथ दिन आफूहरू तयार रहेको बताएका छन्। उनीहरूले पुराना दलहरूबाट देशले निकास नपाएको ठहर गर्दै देश विकासको एकमात्र विकल्पका रूपमा रास्वपालाई रोजेको स्पष्ट पारे।

नवप्रवेशीहरूलाई स्वागत गर्दै रास्वपा पाल्पाका उपसभापति सुमन गैरेले पुराना पार्टीहरूबाट देशले निकास नपाउने अवस्था देखिएकाले परिवर्तन चाहनेहरू रास्वपातर्फ आकर्षित भएको बताए। उनले भने, “देशलाई सही निकास दिने एकमात्र विकल्प रास्वपा हो, परिवर्तन चाहनेहरू क्रमशः रास्वपामा जोडिँदै जानेछन्।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?