पाल्पा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सभापति रवि लामिछाने आज पाल्पा आउने भएका छन्। पार्टीको केन्द्रीय अभियानअन्तर्गत विभिन्न जिल्लामा पुगेर जनतासँग प्रत्यक्ष साक्षात्कार गरिरहेका लामिछाने सोही क्रममा पाल्पा आउन लागेका हुन्। उनको आगमनलाई लिएर जिल्लामा राजनीतिक चहलपहल बढेको छ भने पार्टी कार्यकर्ता तथा समर्थकहरू उत्साहित देखिएका छन्।
रास्वपा पाल्पाका जिल्ला सभापति विष्णु भण्डारीका अनुसार लामिछाने आज दिउँसो ४ बजे रामपुर आइपुग्ने कार्यक्रम तय भएको छ। त्यसपछि साँझ ६ बजे तानसेन पुग्ने कार्यतालिका रहेको छ। तानसेनस्थित टुँडिखेलमा शुभेच्छुक तथा समर्थकहरूसँग भेटघाट तथा सम्बोधन कार्यक्रम राखिएको छ। जिल्ला सभापति भण्डारीले भने, “केन्द्रीय सभापति रवि लामिछानेज्यूको आज पाल्पा आगमन हुने निश्चित भएको छ। दिउँसो रामपुर र साँझ तानसेनमा भेटघाट कार्यक्रम तय गरिएको छ। सम्पूर्ण शुभेच्छुक तथा समर्थकहरूलाई उपस्थितिका लागि अनुरोध गर्दछौं।”
लामिछानेले फागुन १ गते बिहान ८ बजे तानसेनस्थित शीतलपाटीमा पनि शुभेच्छुकहरूसँग भेट गर्ने कार्यक्रम रहेको जनाइएको छ। सोही दिन उनले शक्ति केन्द्रका रूपमा परिचित श्री ७ रणउजिरेश्वर भगवती मन्दिरमा दर्शन गर्नेछन्। त्यसपश्चात् हार्थोक बजार र अर्गली क्षेत्रमा पुगेर स्थानीय मतदातासँग भेटघाट तथा अन्तरक्रिया गर्ने कार्यसूची रहेको छ।
रास्वपा पाल्पाका उपसभापति सुमन गैरेका अनुसार राजनीति यात्रापछि लामिछानेको यो पाल्पा तेस्रो भ्रमण हो। उनले भने, “सभापति लामिछानेज्यू राजनीति प्रवेश गरेपछि तेस्रो पटक पाल्पा आउन लाग्नुभएको हो। उहाँको स्वागतका लागि जिल्लास्तरमा व्यापक तयारी भइरहेको छ।”
पछिल्ला केही दिनदेखि लामिछाने देशका विभिन्न जिल्लामा पुगेर पार्टीको सन्देश प्रवाह गर्नुका साथै नागरिकका समस्या र सुझाव प्रत्यक्ष रूपमा सुन्दै आएका छन्। पाल्पा भ्रमणपछि उनको गुल्मी जाने कार्यक्रम रहेको बताइएको छ।
सभापति लामिछानेको आगमनलाई लिएर पाल्पामा राजनीतिक माहोल थप सक्रिय बनेको छ। पार्टीका स्थानीय नेता तथा कार्यकर्ताले भ्रमणलाई सफल बनाउन तयारी तीव्र पारेका छन् भने समर्थकहरू पनि उत्साहपूर्वक स्वागतको प्रतीक्षामा रहेका छन्।





