पाल्पाको रैनादेवी छहरा गाउँपालिका-५ अन्तर्गतका विभिन्न टोलबस्तीका सयौँ नेता तथा कार्यकर्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। स्थानीय स्तरमा लामो समयदेखि सक्रिय रहेका नेता तथा कार्यकर्ताहरू एकैसाथ रास्वपामा प्रवेश गरेपछि क्षेत्रको राजनीतिक गतिविधि थप चासोको विषय बनेको छ।
रास्वपा पाल्पाका सभापति विष्णु भण्डारीका अनुसार उनीहरू परिवर्तनको सन्देशसहित पार्टीमा प्रवेश गरेका हुन्। उनले रैनादेवी छहरा क्षेत्रका जनताले नयाँ सोच, नयाँ संस्कार र उत्तरदायी नेतृत्व खोजिरहेको बताउँदै रास्वपामा बढ्दो आकर्षण त्यसैको संकेत भएको प्रतिक्रिया दिएका छन्।
पार्टी प्रवेश कार्यक्रममा सहभागी नयाँ सदस्यहरूले पुराना दलबाट अपेक्षित परिवर्तन हुन नसकेको भन्दै अब रास्वपामार्फत देशमा सकारात्मक रूपान्तरणको अभियान अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनीहरूले भ्रष्टाचार नियन्त्रण, सुशासन, पारदर्शिता, रोजगारी र विकासलाई प्राथमिकता दिने नीति भएकाले रास्वपामा आबद्ध भएको बताएका छन्।
रास्वपाले पाल्पाका विभिन्न स्थानीय तहमा संगठन विस्तार र जनसम्पर्क अभियानलाई तीव्र बनाउँदै आएको छ। यस प्रकारको सामूहिक प्रवेशले पार्टीको संगठन थप सुदृढ हुँदै जाने र आगामी दिनमा जनसमर्थन अझै व्यापक हुने अपेक्षा गरिएको छ।





