प्रत्येक वर्ष फाल्गुन कृष्ण चतुर्दशीको मध्यरातमा पर्ने दिन मनाइने महाशिवरात्रि पर्व आज देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ। आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजा–आराधना गरी व्रत, उपवास र जाग्राम बस्ने परम्परा रहेको छ।
वैदिक सनातन धर्मावलम्बीहरू आज बिहानैदेखि नदी, कुण्ड तथा तलाउमा स्नान गरी शिवालयमा पूजा–अर्चना गरिरहेका छन्। दूध, धतुरो र बेलपत्र चढाई उपवास तथा रातभर जाग्राम बसे सर्वसिद्धि प्राप्त हुने धार्मिक विश्वास छ। शिवरात्रिलाई कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि गरी चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराण लगायतका ग्रन्थमा उल्लेख गरिएको छ।
महाशिवरात्रि दीनदुःखी र कष्टमा परेका जीवको हृदयमा धर्म जागृत गराउने भगवान् शिवको प्रिय दिनका रूपमा श्रद्धापूर्वक मनाइँदै आएको छ।





