पाल्पामा रवि लामिछानेको आगमन “परिवर्तनको सन्देश”सँगै तातियो राजनीतिक माहोल

रवि लामिछाने पाल्पा आइपुगेपछि यहाँको राजनीतिक वातावरण एकाएक तरंगित बनेको छ । लामो समयदेखि शान्त देखिएको सदरमुकाम तानसेन सभापति लामिछानेको उपस्थितिले उत्साह, जिज्ञासा र बहसले भरिएको छ । विभिन्न राजनीतिक दलका कार्यकर्ता र सर्वसाधारणको बाक्लो उपस्थितिले रवि पुगेको स्थल खचाखच भरिएको थियो ।

कार्यक्रमका क्रममा सयौँ नेता तथा कार्यकर्ताहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रोज्दै औपचारिक रूपमा प्रवेश गरेका थिए । नवप्रवेशीहरूलाई स्वागत गर्दै सभापति लामिछानेले भन्नुभयो, “पाल्पाबाट सुरु भएको परिवर्तनको सन्देश अब देशव्यापी रूपमा गुन्जिनेछ ।” उहाँले थप्नुभयो, “राजनीतिलाई स्वच्छ, जवाफदेही र जनमुखी बनाउने अभियानमा सबैलाई साथ दिन आग्रह गर्दछु ।”

लामो समयदेखि नेकपा एमाले मा सक्रिय रहँदै आएका युवा रुक्मागत बस्यालले आफ्नो अनुभव सुनाउँदै भन्नुभयो, “म लामो समय एकै पार्टीमा सक्रिय रहेँ, तर पछिल्लो समय सभापति लामिछानेमाथि भएको व्यवहारले मलाई गम्भीर रूपमा सोच्न बाध्य बनायो । अन्यायको विरुद्ध उभिने शक्ति रास्वपामा देखेँ, त्यसैले आज यही पार्टी रोजेको हुँ ।” उहाँका अनुसार “राजनीतिमा इमानदारी र पारदर्शिता आवश्यक छ, र त्यो अभ्यास रास्वपाबाट सम्भव देखिन्छ ।”

सभापति लामिछानेले नवप्रवेशीहरूलाई तक्मा लगाएर सम्मानपूर्वक स्वागत गर्नुभएको थियो । सो अवसरमा उहाँले भन्नुभयो, “हामी व्यक्तिविशेषका लागि होइन, प्रणाली सुधारका लागि राजनीति गरिरहेका छौँ । पाल्पाले दिएको साथ र विश्वासले हामीलाई अझ जिम्मेवार बनाएको छ ।” उहाँको अभिव्यक्तिपछि कार्यक्रमस्थल तालिका र नाराले गुन्जायमान बनेको थियो ।

रास्वपा पाल्पाका सभापति बिश्णु भण्डारी ले जनलहरबारे जानकारी दिँदै भन्नुभयो, “सभापति लामिछाने पाल्पा आउँदा देखिएको जनसागर आफैंमा परिवर्तनको संकेत हो । पछिल्ला दिनहरूमा निरन्तर रूपमा अन्य दलबाट कार्यकर्ता र समर्थकहरू रास्वपामा समाहित भइरहेका छन् ।” उहाँले थप्नुभयो, “यो केवल प्रवेश कार्यक्रम मात्र होइन, जनविश्वासको अभिव्यक्ति हो ।”

कार्यक्रममा सहभागी स्थानीय बासिन्दाहरूले पनि “नयाँ सोच र नयाँ नेतृत्वप्रति आकर्षण बढ्दै गएको” प्रतिक्रिया दिएका थिए । कतिपयले “अबको राजनीति युवापुस्ताको हातमा सुम्पिनुपर्ने बेला आएको” धारणा व्यक्त गरे ।

यसैबीच, बालेन शाह पाल्पा आउने सम्भावित कार्यक्रमबारे पनि चर्चा सुरु भएको छ । पार्टी स्रोतका अनुसार उहाँको आगमनको तयारी भइरहेको र त्यस अवसरमा थप प्रवेश कार्यक्रम आयोजना गरिने योजना छ । एक स्थानीय नेताले भने, “यदि बालेन शाह पाल्पा आउनुभयो भने जनलहर अझ व्यापक बन्नेछ ।”

समग्रमा, सभापति लामिछानेको पाल्पा भ्रमणले जिल्लाको राजनीतिक परिदृश्यमा नयाँ बहस र प्रतिस्पर्धाको संकेत दिएको छ । “परिवर्तनको यात्रा पाल्पाबाट सुरु भयो” भन्ने सन्देशसँगै रास्वपाले यहाँ आफ्नो संगठनात्मक आधार विस्तार गर्ने स्पष्ट संकेत देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?