आजदेखि निर्वाचन प्रचार-प्रसार गर्न सुरु

आजदेखि प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि औपचारिक रुपमा प्रचार-प्रसार सुरु भएको छ । मतदान हुनुभन्दा १५ दिनअघिदेखि मात्र जुलुस, आमसभा, कोणसभा तथा सञ्चारमाध्यम मार्फत प्रचार गर्न पाइने कानुनी व्यवस्था अनुसार फागुन १८ गते राति १२ बजेसम्म दल र उम्मेदवारहरूले प्रचार गर्न सक्नेछन् ।

निर्वाचन आयोग नेपालले आचारसंहिताको पूर्ण पालना गर्न सबै दल तथा उम्मेदवारलाई आग्रह गरेको छ । उल्लङ्घन भएमा स्पष्टीकरण सोध्ने, जरिवाना गर्ने वा उम्मेदवारी खारेजसम्म गर्न सकिने व्यवस्था रहेको आयोगले जनाएको छ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आचारसंहिता उल्लङ्घनमा शून्य सहनशीलता नीति अपनाइने स्पष्ट पारेका छन् ।

दल तथा उम्मेदवारले तोकिएको मापदण्डअनुसार सञ्चारमाध्यम र अनलाइन प्लेटफर्ममार्फत विज्ञापन गर्न सक्नेछन् भने सभा-समारोहको खर्च विवरण निर्वाचन कार्यालयमा बुझाउनुपर्नेछ । साथै, सामाजिक सञ्जालमार्फत झुटा सूचना, दुष्प्रचार अभिव्यक्ति फैलाउन नपाइने आयोगले चेतावनी दिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?