राष्ट्रिय स्वतन्त्र पार्टी पाल्पाद्वारा निर्वाचन परिचालन समिति गठन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पाल्पाले आगामी निर्वाचनलाई लक्षित गर्दै निर्वाचन परिचालन समिति गठन गरेको छ । पार्टीको जिल्ला कार्य समितिको बैठकले आवश्यक तयारीलाई तीव्र बनाउने उद्देश्यसहित समिति गठन गरेको हो ।

जिल्ला सभापति विष्णु भण्डारीको सभापतित्वमा गठन गरिएको उक्त समितिमा पार्टीका जिल्ला तथा क्षेत्रीय तहका पदाधिकारीहरूलाई समेटिएको जनाइएको छ । समितिले निर्वाचन केन्द्रित कार्यक्रमहरू सञ्चालन गर्दै संगठनलाई वडा तहसम्म बलियो बनाउने लक्ष्य लिएको छ ।

क्षेत्रीय सभापति गणेश बस्यालका अनुसार समितिले मतदाता शिक्षादेखि घरदैलो कार्यक्रम तथा प्रचार-प्रसारलाई प्राथमिकतामा राखेर काम गर्ने जानकारी दिनुभयो । उहाँका अनुसार पार्टीले विकास निर्माणका योजना र जनजीविकासँग सम्बन्धित विषय अभियानका मुख्य एजेन्डा रहने छन् ।

समितिले आगामी दिनमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने तथा सामाजिक सञ्जालमार्फत सूचना प्रवाहलाई प्रभावकारी बनाउने योजना समेत अघि सारेको छ । रास्वपा पाल्पाले संगठन विस्तारसँगै जनताको विश्वास जित्दै आगामी निर्वाचनमा उल्लेखनीय परिणाम हासिल गर्ने दाबी गरेको छ ।

निराजन पौडेल
फागुन ४, पाल्पा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?