राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. माधव थापाले आज तिनाउ गाउँपालिका का विभिन्न वडाहरूमा घरदैलो कार्यक्रम सम्पन्न गर्नुभयो । चुनावी अभियानलाई तीव्र बनाउँदै उहाँ बिहानदेखि साँझसम्म स्थानीय बस्तीहरूमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट तथा संवादमा सक्रिय रहनुभएको थियो ।
मतदातासँग प्रत्यक्ष संवाद गर्दै आफ्ना एजेन्डा तथा भावी योजनाबारे जानकारी गराउने उद्देश्यले उहाँ निरन्तर गाउँगाउँ-टोलटोलमा पुगिरहनुभएको छ । घरदैलोका क्रममा उहाँले शिक्षा, स्वास्थ्य, कृषि र युवामुखी कार्यक्रमलाई मुख्य प्राथमिकतामा राखेको बताउनुभयो ।
घरदैलो कार्यक्रमका क्रममा स्थानीय बासिन्दाहरूले आफ्ना समस्या तथा गुनासाहरू थापासमक्ष खुलस्त रूपमा राखेका छन् । गुणस्तरीय स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउनुपर्ने, ग्रामीण सडकहरूको स्तरोन्नति गर्नुपर्ने, खानेपानी व्यवस्थापनमा सुधार गर्नुपर्ने तथा युवालाई स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्नुपर्ने माग स्थानीयले अघि सारेका थिए भने कतिपय स्थानमा कृषि उत्पादनको उचित मूल्य र बजार व्यवस्थापनको विषय पनि उठाइएको रास्वापा क्षेत्रीय सभापति गणेश बस्यालले जानकारी गराउनुभयो ।
स्थानीयको सुझाव र समस्यालाई ध्यानपूर्वक सुन्दै थापाले ती विषयलाई आफ्नो कार्ययोजनामा समेट्ने प्रतिबद्धता जनाउनुभयो । जनताका आधारभूत आवश्यकताहरूलाई प्राथमिकतामा राखी पारदर्शी र उत्तरदायी ढंगले काम गर्ने उहाँले विश्वास दिलाउनु भएको छ । जनताको साथ, सुझाव र सहकार्यबाट मात्रै समृद्धि सम्भव हुने उल्लेख गर्दै आफू सधैं जनताको सेवामा समर्पित रहने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ ।
निराजन पौडेल
फागुन ४, पाल्पा ।





