तिनाउ र बगनासकालीमा रास्वपाको घरदैलो कार्यक्रम

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. माधव थापाले आज तिनाउ गाउँपालिकामा व्यापक घरदैलो कार्यक्रम सम्पन्न गर्नुभयो ।  घरदैलो कार्यक्रम अन्तर्गत उहाँले विभिन्न वडामा पुगेर स्थानीय बासिन्दासँग भेटघाट गर्नुभएको थियो । भेटका क्रममा जनताले शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि तथा विकास सँग सम्बन्धित आफ्ना समस्या राखेका थिए । डा. थापाले ती विषयलाई गम्भीरतापूर्वक लिँदै जनताको सुझावलाई आफ्नो प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

तिनाउमा कार्यक्रम सम्पन्न गरेलगत्तै उहाँले बगनासकाली गाउँपालिकाको चिर्तुङधारा, पोखराथोक, खोरबारी पुगेर चुनावी भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्नुभयो । कार्यक्रममा स्थानीय युवायुवती, महिलासमूह तथा ज्येष्ठ नागरिकहरुको उल्लेखनीय सहभागिता रहेको थियो । घरदैलो कार्यक्रममा बोल्दै डा. थापाले रोजगारी सिर्जना र स्थानीय स्रोत-साधनको अधिकतम उपयोग मार्फत समृद्ध क्षेत्र निर्माण गर्ने आफ्नो लक्ष्य रहेको बताउनुभयो ।

कार्यक्रममा समर्थकहरूको उत्साहजनक सहभागिता रहेको थियो । क्षेत्रीय सभापति गणेश बस्यालका अनुसार रास्वपाको नाम सुन्नासाथ जनतामा देखिने उत्साह र रौनक नै फरक रहेको बताउनुभयो । उहाँका अनुसार पछिल्लो समय जनतामा वैकल्पिक राजनीतिक शक्तिप्रति भरोसा बढ्दै गएको छ, जसको प्रतिफल चुनावमा देखिने विश्वास व्यक्त गर्नुभयो ।

निराजन पौडेल
फागुन ५, पाल्पा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?