ललितपुरको लगनखेलमा रहेको मानसिक अस्पतालमा किशोरकिशोरी मानसिक स्वास्थ्य इकाइको उद्घाटन भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले आज मानसिक स्वास्थ्य इकाइको उद्घाटन गर्नुभयो । मन्त्री बस्नेतले नेपालमा शिक्षा, स्वास्थ्य र रोजगारीको अवसरको कमीले युवाहरूमा मानसिक रोग बढिरहेको भन्दै यसको उपचार देशभरि नै विस्तार गर्न मन्त्रालय लागिपरेको बताउनुभयो ।
बाल श्रमको क्षेत्रमा काम गरिरहेको संस्था सिबिन नेपालका कार्यकारी निर्देशक सुम्निमा तुलाधरले किशोरकिशोरीहरूको मानसिक समस्या बुझ्ने पर्याप्त निकायहरू नभएको बेला मानसिक स्वास्थ्य इकाइ स्थापनाले सहयाेग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
लगनखेल अस्पताल र सिबिन नेपालको साझेदारीमा स्थापना भएको यो इकाइले किशोरकिशोरीहरूको बढ्दो मानसिक स्वास्थ्य आवश्यकतालाई सम्बोधन गर्ने लक्ष्य राखेको छ ।
इकाइमा ६ वटा सामान्य र ६ वटा अर्धसामान्य गरी १२ वटा शय्या छन् । अर्धसामान्य शय्यामा आत्महत्यालगायत गम्भीर मानसिक समस्या बिमारीको उपचार गरिने र सामान्य शय्यामा रिसाउने, झर्किने, झगडा गर्नेलगायत सामान्य बिरामीको उपचार गरिने डाक्टरले बताएका छन् ।