क्यान इन्फोटेकमा नयाँ प्रविधिबारे जानकारी

काठमाण्डौको भृकुटीमण्डमा अस्ति बिहीवारदेखि शुरु भएको क्यान इन्फोटेकमा विभिन्न क्षेत्रका नयाँ प्रविधि प्रदर्शनमा राखिएको छ । आयोजक कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ क्यानका अनुसार प्रदर्शनीमा सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा भित्रिएका नयाँ प्रविधिबारे जानकारी लिन सकिन्छ ।

क्यान इन्फोटेकमा नेपालमै विकास भएको एआई जेनेरेटिभ सिस्टमदेखि नेपाली समाजलाई उपयोगी हुने विभिन्न सेवा र उत्पादनको विशेष प्रदर्शनी गरिएको महासङ्घका अध्यक्ष रणजीत पोद्दारले बताउनुुभयो । त्यस्तै शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनको क्षेत्रमा प्रयोग भएका नयाँ प्रविधिलाई समेत समावेश गरिएको छ ।

पर्सि २९ गतेसम्म सञ्चालन हुने प्रदर्शनीमा विभिन्न कम्पनीका १५० वटा स्टल राखिएको छ । आयोजकका अनुसार प्रदर्शनीमा क्यान महासङ्घका सदस्य संस्थाहरुका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीहरूको सहभागिता रहेको छ ।

प्रदर्शनीमा राखिएका नवीनतम प्रविधि तथा स्थानीय बजारको मागअनुसार विकास गरिएका प्रतिभा र आविष्कारले डिजिटल नेपाल निर्माणको अभियानलाई सहयोग पुग्ने आयोजकको विश्वास छ । यसपालीको २९ औँ संस्करणको क्यान इन्फोटेकमा स्टार्टअप, युवा प्रतिभा, नवप्रवर्तन तथा नेपाली उत्पादनलाई विशेष प्राथमिकता दिइएको महासङ्घले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?