झापाकाे दमक नगरपालिकाले प्राधिकरणसँग विद्युतकाे पोल उपयोग गरेबापत भाडा असुल्ने

दमक नगरपालिकाले नेपाल विद्युत प्राधिकरणसँग विद्युत् पोल र ‘ट्रान्सफर्मर’ राखेबापतको भाडा लिने भएको छ । प्राधिकरणले विद्युत् महसुलको बक्यौता असुल्न गर्न  ताकेता गरेपछि नगरपालिकाल यस्ताे निर्णय गरेको हो ।

नगरपालिकाले नगरभित्र गाडिएका विद्युत् पोल र विद्युत् ट्रान्सफर्मरबापत प्राधिकरणसँग जग्गाको भाडाबापत अहिलेसम्मकै भाडा असुल्ने निर्णय लिएको हो । नगरपालिकाको १३ औँ नगरसभाले स्वीकृत गरेको दर रेटमा भाडाबापतको रकम असुल गर्ने निर्णय गरेको नगरपालिकाको बैठक व्यवस्थापन शाखाले जनाएको छ ।

नगरपालिकाको गएकाे माघ ९ मा बसेको कार्यपालिका बैठकमा नगरपालिकाको नाममा यसअघि जडान भएका कूल एक सय ७०  विद्युत् मिटरमा उठेको महसुल बापतको बक्यौता छ करोड ९३ लाख ६१ हजार रुपैयाँ तिर्न विद्युत् प्राधिकरण दमक वितरण केन्द्रले गरेको पत्राचारबारे छलफलसमेत भएको जनाइएको छ ।

मेयर रामकुमार थापाले छलफलपछि कार्यपालिका बैठकले यसअघि नगरपालिकाले विभिन्न टोलमा जडान गर्न लगाएका सडक बत्तीबापतको विद्युत् महसुलका कारण नगरपालिकाका नाममा विद्युत् महसुलको बक्यौता देखिएको ठहर गरेको बताउनुभयो । अब कुनै पनि टोलमा नगरपालिकाका नाममा विद्युत् मिटर राख्न अनुमति वा सिफारिस नदिने र त्यसरी सडक बत्ती जडान तथा मर्मत एकपटकका लागि मात्रै नगरपालिकाले गर्ने र त्यसपछि भने सम्बन्धित टोल विकास संस्थाले आफैंले ब्यहोर्नेु पर्ने गरी मात्रै सिफारिस दिने पनि बैठकले निर्णय लिएको उहाँले जानकारी दिनुभयो ।

त्यसैगरी नगरपालिकाले वडा नं ६ मा रहेकाे नगरपालिकाको स्वामित्वमा रहेका पसल क्लबको सम्झौतामा उल्लेख भएअनुसार व्यवसायीले नियमितरुपमा तिर्नुपर्ने भाडाको बक्यौता अहिलेसम्म ४४ लाख रुपैयाँ रहेकाले त्यसकाे असुलीका लागि टोली खटाउने पनि निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?