पूर्व-पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका-१ दोबाटाको घुम्तीबाट बुधबार मध्यरातमा बस खोलामा खस्दा कम्तीमा २ जनाको मृत्यु भएको छ ।
कम्तीमा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख उपरीक्षक नवरत्न पौडेलले बताए । ‘हताहती कति हो ठ्याक्कै पुष्टि भइसकेको छैन,’ उनले भने, ‘अहिले नै मृतकको संख्या भन्न सकिन्न ।’ महेन्द्रनगरबाट काठमाडौं तर्फ जाँदै गरेको यात्रु बस करिब दुईसय मिटर तल खस्दा दुर्घटना भएको हो ।
सुदूरपश्चिमको सुनौलो महाकाली यातायातले सञ्चालन गरेको सुप प्र–०२–००१ ख ००९८ नम्बरको बस बाटोबाट करिब २ सय मिटर तल खसेको हो । ३३ जनालाई स्टेचरमा राखेर खोलाबाट रोप रेस्क्यु गरेर उद्धार गरिएको सशस्त्रका उपरीक्षक केसीले बताए । बसमा ३७ जना यात्रु र ३ जना बस कर्मचारी रहेका थिए । तीब्र गतिमा रहेको बस घुम्तीमा अनियन्त्रित भइ दुर्घटना भएको प्रारम्भिक अनुसन्धान गरिएकोछ ।
मृतकको नाम अझै खुलेको छैन । घाइतेहरुको चन्द्रौटास्थित सञ्जीवनी र आधारभूत स्वास्थ्य केन्द्र अस्पताल र बुटवलको चौराहा अस्पतालमा उपचार भइरहेको छ ।