‘हगडे’ मा १ जोडी मुख्यमन्त्री प्रेमको प्रतिक रानीमहल आउने

भ्यालेनटाईन डे जारिरहेका बखत प्रेमको प्रतिक रानीमहलमा १ जोडी मुख्यमन्त्री आउने भएका छन । हग डे का दिन भोली वुधवार लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको मिलन रानीमहलमा हुने भएको हो ।

रानीमहलका लागि, यस्ता कैयन भेटघाट, छलफल र निर्णय खड्गशमसेर र तेजकुमारीको जस्तो स्नेही भने हुन सकेको छैन । निर्जिव महलले आफ्नो दुर्दशा देखाईरहेको छ तर अधिकारीहरु हेर्ने, प्रतिबद्धता गर्ने र फर्कने गरेका छन । अनकन्टाहार, नदी तटमा बनेको भब्य संरचनालाई वेवास्ता गरिएको छ । यि दुई मुख्यमन्त्रीको मिलन पनि रानीमहलको स्तरोन्नतीका लागि आम नागरिकहरुका नजरबाट बिभरको छ ।

रानीमहलमा हुने अन्तर प्रदेश स्थरीय बैठकले पनि कार्यान्वयन नहुने घोषणा पत्र जारि गर्ने अनुमान गर्न सकिन्छ । कार्यान्वयनको उद्धेश्य हुँदो हो त यहाँका पालिका, प्रदेश सभा सदस्य र संघिय सांसदले बोल्न र बजेट माग गर्न कुनै कसर बाँकी राखेका छैनन् । सबै योजनाको बारेमा उनिहरुले जानकारी गराएका छन ।

रानीमहलले धेरै उच्च पदस्थ ब्यक्तिहरु भेटिसकेको छ तर अवस्था भने झनै बिग्रिदो छ । यहि २ वर्षको आसपासमा मात्रै अहिलेका प्रधानमन्त्री केपि शर्मा ओली रानीमहल पुगेका थिए । त्यस्तै संघिय सरकारका सभामुख देवराज घिमिरे समेत रानीमहल गए । अन्य मन्त्री, सरकारका सचिव तथा अधिकारीको उपस्थिती रानीमहलका लागि नौलो छैन । तर रानीमहलको रुप गतिलो गरि फेरिएको छैन ।

नेकपा माओवादी केन्द्र पाल्पाका संयोजक राजेन्द्र बिकले यस्ता छलफलहरुले कुनै निश्कर्ष दिन नसक्ने बताए । ‘कसको महत्व कति हो र के का लागि हो भन्ने नै थाहा छैन’ संयोजक बिकले भने, ‘समग्र छलफल गरेर काम छैन, यसले कुनै नतिजा आउदैन ।’
पर्यटकले रानीमहलको चर्चा र प्रेमको गाथा सुनेर जाने गरेको तर महलको अवस्था दिग्दार रहेको प्रतिक्रिया दिने गरेका छन । काठमाण्डौबाट घुम्न आएकी कोशिस श्रेश्ठले उजाड भिक्ताको फोटो खिच्दै कम्तिमा रङगरोगन गर्न सम्बन्धित निकायलाई सुझाव दिईन ।

यसपटक मुख्य मन्त्री रानीमहल पुग्ने खवरले रानीमहलका लागि केही निर्णय हुने आसा सम्म गरिएको छ । अन्तर प्रदेशको विकास, पर्यटकिय क्षेत्रको पर्वद्र्धन तथा प्रचार गर्ने उद्धेश्यले दुई प्रदेशका मुख्यमन्त्री र अन्य सरोकारवालाहरुको उपस्थितीमा बृहत छलफलका हुन लागेको मुख्यमन्त्री चेतनारायण आचार्यका प्रेस संयोजक दशरथ घिमिरेले जानकारी गराए ।

तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेस्ठले यसपटक रानीमहलको बिषयमा गम्भिर छलफल हुने बताएका छन । उनले भने,‘ दुवै प्रदेशले ध्यान दिनुपर्ने अन्य क्षेत्रको विकासका लागि पनि छलफल हुनेछ, यो उपलब्धिमुलक बन्ने मेरो बिश्वास छ ।’
अरुलाई माया प्रेम सिकाउने र अजर अमर प्रेमको प्रतिकका रुपमा लिइने दरवार आफैंले भने मायाँ पाउन सकेको छैन । मर्मत संभारको अभावले दरवार चमक बिहिन छ । सरसफाइ हुन सकेको छैन संरचना बिग्रीदै गएको छ । दरवार जीर्ण बनेपछी घुम्न जाने चिन्तित छन तर संरक्षणको जिम्मा पाएको तानसेन नगरपालिका भने बेलाबेलामा औपचारिक उपस्थिती देखाउने बाहेक बढ्ता केहि गर्न सकेको छैन ।

करीब ११ रोपनी क्षेत्रफलमा रहेको नेपालको यो ताजमलमा २४ वटा कोठा रहेका छन । ताजमहलको परिसरमा मनमोहक बगैंचा, शिवलालय, पानीपोखरी, शिबलिङमा नागनागिनीले जल शेचनको दृश्य, भान्सा घर, घोडा बाध्ने तबेला ठुला घण्टहरु सहितको बिभिन्न आकर्षक कलाकृतिहरु देख्न सकिन्छ ।

लुम्बिनी प्रदेश तर्फ वारी रानीमहल र गण्डकी प्रदेश तर्फ पारि आलमदेवीको अवस्था मात्रै राम्रो गर्न सके पनि मुख्यमन्त्रीहरुको भेटघाट सार्थक हुनेछ । अन्यथा ५ दिन देखी तयारीका लागि खटेका कर्मचारी, सुरक्षाकर्मी र अधिकारीहरुको मिहनेत र यसबापत हुने लाखौँको खर्च राज्यका लागि भार बाहेक अरु केही हुने छैन ।

-नारायण न्यौपाने
पाल्पा, माघ २९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?