रास्वपाका उम्मेदवार डा. माधव थापा रिब्दिकोट पुगेपछि स्थानीयमा उत्साह, ‘घण्टी’ प्रति बलियो विश्वास

पाल्पा–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बनेपछि डा. माधव थापा थप चर्चामा आएका छन्। जन्मथलो रिब्दिकोट पुगेर स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गरेपछि  चुनावी उत्साह देखिएको छ।

लामो समय स्वास्थ्य सेवामा समर्पित डा. थापाले २० वर्षको पेशागत जीवनलाई  रोकेर राजनीतिमा प्रवेश गरेको बताउँदै राजनीतिलाई पेशा होइन, सेवाको माध्यम बनाउने स्पष्ट धारणा राखेका छन्। “मैले जन्मेको ठाउँ कहिल्यै छोड्दिनँ। ९० वर्षसम्म राजनीति गर्ने सोच छैन। राजनीतिलाई जीविकाको साधन होइन, सेवाको क्षेत्र बनाउँछौँ। र समयमै पुस्तान्तरण गर्छौँ,” उनले भने।

उनले आफू जन्मिएको माटोप्रति जिम्मेवारीबोध गर्दै स्थानीय समस्या, विकास र सम्भावनालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे। स्वास्थ्य  क्षेत्रमा हासिल गरेको अनुभवलाई नीति निर्माण र जनसेवामा प्रयोग गर्ने उनको भनाइ थियो।

कार्यक्रममा सहभागी सुरज परियारले जेन्जी समूहका प्रतिनिधिका रूपमा बोल्दै डा. थापा यसअघि पनि निरन्तर समाजसेवामा सक्रिय रहँदै आएको व्यक्ति भएको उल्लेख गरे। “उहाँ समाजबाटै उठेर आएको नेतृत्व हो। गाउँ–समाजको विकास र निकासका लागि रास्वपाबाट सम्भावना देखिएको छ,” उनले भने।
परियारका अनुसार आफ्नो पुस्ताले बगाएको रगतको निसाफ रास्वपाले दिने विश्वास बढ्दै गएको छ।

स्थानीय मतदाताले ‘घण्टी’ चुनाव चिन्हलाई परिवर्तन, विकास र जवाफदेही राजनीतिको प्रतीकका रूपमा लिँदै यसपटक पनि घण्टी बजाइसकेको बताएका छन्। कार्यक्रममा सहभागी मतदाताहरूले जितपछि उम्मेदवारले पाल्पाको समग्र विकास, सुशासन र सेवा प्रवाहमा पूर्ण रूपमा तल्लिन हुन आग्रह गरेका छन्।

यसैक्रममा स्थानीय नारायण कुँवरले २०८४ सालसम्मका लागि निर्वाचित जनप्रतिनिधिहरूले अपेक्षित काम गर्न नसकेको कारण २०८२ मै चुनाव हुनुपर्ने परिस्थिति सिर्जना भएको बताए। “यसपटक घण्टीको विकल्प छैन,” उनले भने।
उनले अघिल्लो निर्वाचनमा दिएको भोट सही ठाउँमै परेको भए पनि राजनीतिक परिस्थितिका कारण त्यसले अपेक्षित परिणाम दिन नसकेको धारणा पनि व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?