पाल्पा-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. माधव थापाले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको निर्वाचनअघिको घरदैलो कार्यक्रम तीव्र रूपमा सञ्चालन गर्नुभएको छ ।
यसै क्रममा आज बगनासकाली गाउँपालिका वडा नं.१ चिर्तुङधारा, वडा नं.२ आर्यभञ्ज्याङ तथा माथागढी गाउँपालिका वडा नं.१ अगाहाँखोलामा स्थानीय बासिन्दासँग भेटघाट गर्नुभएको थियो। घरदैलो कार्यक्रममा विकास, पूर्वाधार तथा आधारभूत सेवासम्बन्धी विषयमा छलफल भएको छ ।
अगाहाँखोलामा अधिकांश स्थानीय बासिन्दाहरु स्वतःस्फूर्त रूपमा रास्वपामा प्रवेश गरेको रास्वपा क्षेत्रीय सभापति गणेश बस्याले जानकारी दिनुभयो । भेटघाटका क्रममा मतदाताहरूले सुरक्षित खानेपानीको अभाव र ग्रामीण सडक पूर्वाधारको कमजोर अवस्थालाई प्रमुख समस्या भएको बताएका थिए ।
डा.थापाले जनताका आधारभूत समस्या समाधानलाई पहिलो प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्दै आवश्यक बजेट विनियोजन, सम्बन्धित निकायसँग समन्वय गरि खानेपानी तथा सडक सुधारमा प्रभावकारी पहल गर्ने बताउनुभएको थियो ।
निराजन पौडेल
पाल्पा ।





