पाल्पा-२ मा रास्वपा उम्मेदवार डा.माधव थापाको घरदैलो अभियान तीव्र

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको निर्वाचन नजिकिँदै जाँदा पाल्पा क्षेत्र नं.२ मा चुनावी गतिविधि तीव्र बन्दै गएको छ । यसै क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा.माधव थापाले आफ्नो घरदैलो तथा जनसम्पर्क अभियानलाई तीव्रता दिनुभएको छ । गाउँ-गाउँ , टोल-टोलमा पुगेर मतदातासँग भेटेर संवाद गरिरहनुभएका थापाले यसपटक परिवर्तनका पक्षमा उभिन सबै मतदातालाई आग्रह गर्नुभएको छ ।

पछिल्ला केही दिनयता पाल्पाका विभिन्न वडाहरूमा आयोजित मतदाता भेटघाट कार्यक्रममा स्थानीयवासीको उल्लेखनीय सहभागिता देखिएको छ । घरदैलो अभियानका क्रममा डा.थापाले स्थानीय समस्या, विकासका सम्भावना तथा नागरिकका हरेक गुनासा चासोपूर्वक सुनुवाइ गरिरहनुभएको छ । उहाँले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी तथा पूर्वाधार विकासलाई आफ्नो प्राथमिकतामा राखी दीर्घकालीन योजना सहित अघि बढ्ने प्रतिबद्धता जनाउनुभएको छ ।

यसैबीच आज माघ २९ गते तिनाउ गाउँपालिकाका विभिन्न स्थानमा कार्यक्रम तय गरिएको छ। बिहान ९ बजे लामाचौर, १० बजे भ्याग्ला, ११ बजे बगाहा र दिउँसो १२:३० बजे हरियालीमा घरदैलो तथा कोणसभा कार्यक्रम आयोजना गरिएको छ ।

त्यसैगरी बेलुका ६:३० बजे तानसेन टुँडिखेलमा आयोजना हुने विशेष सभामा रास्वपा सभापति रवि लामिछाने सहभागी हुने कार्यक्रम रहेको छ । उक्त सभालाई चुनावी अभियानको महत्वपूर्ण कार्यक्रमका रूपमा हेरिएको छ । पार्टीका जिल्ला तथा प्रदेशस्तरीय नेताहरूको समेत सहभागिता रहने जनाइएको छ ।

निराजन पौडेल
माघ २९, पाल्पा ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?