भिजिट भिसामा संयुक्त अरब इमिरेट्स यूएई गएर अलपत्र परेका सप्तरी तोपा–कजौलीका ललित कुमार मण्डललाई मधेशी एकता समाजले उद्धार गरी नेपाल फिर्ता पठाएको छ ।आवश्यक सबै सहयोग गर्दै कानुनी प्रक्रिया पूरा गरेर एकता समाज यूएईका उपाध्यक्ष कृष्ण ठाकुरले मण्डललाई गत बुधबार स्वदेश फिर्ता पठाएका हुन् ।
एक जना नेपाली एजेन्टले काम लगाइदिने प्रलोभन दिएर मण्डललाई भिजिट भिसामा गत जनवरीमा दुबई लगेका थिए । तर, नेपाली एजेण्टको दुबईमा रहेको बंगाली एजेण्टले त्यहाँको कम्पनीमा भिषा नलगाइकनै काम लगाइदिएका थिए ।त्यस कम्पनीले तलब र अन्य सुविधा नदिएपछि मण्डलले गत जुलाईको अन्त्यदेखि काम छोडेर अजमान बसपार्कको चौरमा भोकभोकै रात बिताउन बाध्य भएका थिए । एकता समाजका प्रवक्ता ललित रेले मण्डलको अवस्था थाहा पाएपछि समाजलाई जानकारी गराएका थिए ।
त्यसपछि समाजका यूएई उपाध्यक्ष कृष्ण कुमार ठाकुरले मण्डललाई उद्धार गरेर करिब दुई हप्ता आफूसँग राखेका थिए । आवश्यक सबै कानुनी प्रक्रिया पूरा गरी गत भदौ १ गते बुधबार इन्डिगो एयरलाइन्सबाट मण्डललाई उनले नेपाल फिर्ता पठाए ।स्वदेश फर्किनेक्रममा अबुधाबी विमानस्थलमा प्रतिक्रिया दिँदै पीडित मण्डलले भिजिट भिसामा काम गर्न विदेश नजान सबैलाई आग्रह गरे । उनले भिजिट भिसामा खाडी मुलुक गए आफूजस्तै अरुले पनि दुःख पाउने भन्दै नेपाली युवालाई सचेत गराए ।