‘ब्लु बर्ड एच डि’ नामक कम्पनीले नर्वेमा चलचित्र ‘तिम्रो नजर’को छायांकनका लागि भन्दै आर्यन सिग्देल, केकी अधिकारीसहित १४ जनाको नाममा नेपाल पर्यटन बोर्डको लेटरप्याड र कार्यकारी प्रमुखको हस्ताक्षर नक्कली प्रयोग गरी नर्वेजियन दूतावासमा भिसा आवेदन दिएको खुलेपछि बुधवार केकीले सामाजिक सञ्जालमार्फत् उक्त चलचित्र र कम्पनीसँग सम्झौता नगरेको स्पष्टिकरण दिइन् ।
भिसा आवेदनमा चलचित्रको निर्देशकमा आफ्नो नाम आएपछि दीपकप्रसाद आचार्यले पनि स्पष्टिकरण दिएका छन् । केकीकै स्टाटस सापटी लिँदै उनले ‘तिम्रो नजर’ नामक फिल्म साइन नगरेको र ‘ब्लु बर्ड एच डि’ कम्पनीसँग कुनै खालको सम्झौता नगरेको बताएका छन् । ‘काकु’ उपनामले चिनिने उनी हाँस्य टेलिसिरियल ‘सक्किगोनी’का कलाकार तथा श्रृंखला निर्देशक हुन् ।
‘मैले त्यस्तो नाम गरेको कुनै कम्पनीसँग कुनै नामको चलचित्रमा सम्झौता गरेको छैन र यस किसिमको अवान्छित गतिविधिबारे पूर्व जानकारी पनि थिएन । मेरो व्यक्तिगत विवरण समेटिएको सरकारी कागजपत्र, हस्ताक्षर र नामको दुरुपयोग गरि गैरकानूनी कृयाकलाप गरिएको रहेछ भने दोषी उपर कारवाही गर्न सम्बन्धित निकायलाई निवेदन गर्दछु,’ आचार्यले फेसबुकमा लेखेका छन् ।