‘ऐना झ्यालको पुतली’को बाल गीत सार्वजनिक

बुसान, ढाका, फ्रिबर्ग लगायत थुप्रै प्रतिष्ठित अन्तर्राष्ट्रिय फेस्टिभलमा छनोट भएर पुरस्कृत समेत भएको सुजित बिडारी निर्देशित फिल्म ‘ऐना झ्यालको पुतली’को पहिलो गीत सार्वजनिक भएको छ । ‘मेरो गाउँ ज्यामिरे’ बोलको बाल गीतमा रामबाबु सुवेदीको शब्द रचना र रामेश श्रेष्ठको संगीत छ । गीतमा टेम्दो छिरिङ, अङ्गमु लामा र स्वर्णिम स्कुलका विद्यार्थीहरूले स्वर दिएका छन् ।
रामबाबु सुवेदीले २०४० सालमा रचना गरेको गीतमा २०४२ सालमा रामेश श्रेष्ठले संगीत गरेका थिए । रेडियो नेपाल तथा एफएममा बज्दै आएको यही बाल गीतलाई निर्माण टिमले फिल्मको ओर्जिनल साउन्ड ट्रयाक ९ओएसटी०को रुपमा प्रयोग गरेको हो । रचनाकार सुवेदीले आफूले गीतमा कल्पना गरे जस्तै फिल्मको कथा दुरुस्त रहेकाले गीत प्रयोगका लागि अनुमति दिएको बताए ।

‘मैले फिल्म पनि हेरेँ । गाउँले परिवेश र शिक्षाको महत्वको विषयमा असाध्यै राम्रो राम्रो बनेको रहेछ । मैले केटाकेटीले गीत सुनुन् भनेर बनाएको हो । अब फिल्ममा आएपछि त्यो झन् धेरैमाझ पुग्छ,’ उनले भने, ‘यो गीतले पनि शिक्षाको कुरा गर्छ र फिल्मले पनि । हाम्रो उद्देश्य पनि मिल्यो ।’ लेखक तथा निर्देशक बिडारीले गीतले नोस्टाल्जिक बनाएकै कारण फिल्ममा समावेश गरेको बताए ।
भदौ २४ गतेबाट प्रदर्शनमा आउने यस फिल्मले आर्थिक अभावका कारण एक परिवारले सन्तानलाई शिक्षा दिन गर्नुपरेको संघर्षको कथा भनेको छ । फिल्मले बाल्यकाल र योसँग स्मृतिको कथा पनि बोल्छ । आकाश पौडेल, रामकृष्ण पोखरेल, प्रविन स्याङ्बो र सुजित बिडारीले निर्माण गरेको फिल्ममा सिरु बिष्ट, कञ्चन चिमरिया, दिनेश खत्री, उमेश श्रेष्ठ, अशोक सिवाकोटीको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?