‘प्रेमगीत ३’को हिन्दी ट्रेलर हेरेपछि बलिउडकर्मीले के भने

असोज ७ गतेबाट नेपालसँगै भारतमा एकसाथ प्रदर्शनमा आउन लागेको चलचित्र ‘प्रेमगीत ३’को यसै हप्ता मुम्बईमा एक कार्यक्रमका बीच हिन्दी भर्सनको ट्रेलर सार्वजनिक गरियो । उक्त कार्यक्रममा उपस्थित हुनका लागि नेपालबाट निर्देशक एवं निर्माता सन्तोष सेन, मुख्य कलाकारहरु प्रदीप खड्का, सुनिल थापा, मनिष राउत, प्रेम पुरी, क्रिस्टिना गुरुङलगायत मुम्बई पुगेका थिए ।

ट्रेलर लन्च कार्यक्रममा प्रदीप र क्रिस्टिनाले बलिउडकर्मीको स्वागतमा क्रिस्टिनाको गीतमा रोमान्टिक नृत्य पस्किएका छन् । चलचित्रलाई सहयोग गर्न बलिउडबाट अभिनेता महेश मंजेकर, शिवाजी सतम, निर्देशक अनीस बाज्मी, कोरियोग्राफर गणेश आचार्य, संगीतकार एवं गायक पवनदीप राजन, निर्देशक इन्द्र कुमार, ‘प्रेमगीत ३’का भारतीय निर्माता सुवाष कालेलगायत उपस्थित थिए ।ट्रेलर रिलिजअघि बलिउडकर्मीले चलचित्रको पोस्टर लञ्च गरे । ट्रेलर हेरिसकेपछि भने उनीहरुले चलचित्रको तारिफमा शब्द खर्चिए । ‘अन्तिम’ निर्देशक तथा कलाकार महेश मंजेकर महेश मंजेकरले ट्रेलर राम्रो लागेको र चलचित्रले राम्रो व्यापार गर्ने विश्वास व्यक्त गरे । ‘अहिले क्षेत्रिय चलचित्रले राम्रो गरिरहेका छन् । चलचित्रको कुनै भाषा हुँदैन । ट्रेलरमा त्यो देखिन्छ । चलचित्रका गीतहरु पनि राम्रा छन्,’ उनले भने ।

ट्रेलर हेरेपछि अर्का निर्देशक अनीस बाज्मीले हिमायलको दृश्य एकदमै सुन्दर लागेको प्रतिक्रिया दिए । आफूलाई पनि वर्षौंदेखि नेपालको हिमालयको दृश्यमा चलचित्र खिच्ने इच्छा भए पनि आफू कहिल्यै जान नसकेको बताए । उनले लोकेशनदेखि छायांकन पक्षको प्रशंसा गरे । अभिनेता शिवाजी सतमले चलचित्र अन्तर्राष्ट्रिय स्तरको बनेको भन्दै चलचित्रले बक्सअफिसमा राम्रो गर्ने बताए ।कोरियोग्राफर गणेश आचार्यले ट्रेलरमा मेहनत देखिएको भन्दै चलचित्र राम्रो चल्ने विश्वास व्यक्त गरे । त्यस्तै, निर्देशक इन्द्र कुमारले चलचित्र सुपरहिट बनोस् भनेर शुभकामना दिए । ‘प्रेमगीत ३’का भारतीय निर्माता सुवाष कालेसँगको सम्बन्धका कारण चलचित्रको ट्रेलर रिलिज कार्यक्रममा प्रख्यात बलिउडकर्मीको उपस्थिति रहेको थियो । सुवाषले धेरै बलिउड चलचित्रको वितरण गरेका छन् ।

बलिउडकर्मीलाई साक्षी राख्दै चलचित्रका प्रमुख अभिनेता प्रदीप खड्काले कार्यक्रममा हिन्दी भाषामा आफ्नो धारणा राखेका थिए । एक पत्रकारले हिन्दी भाषामा बोल्नुको कारण सोधेपछि उनले भने( ‘अन्तर्राष्ट्रिय मञ्चमा बोल्दा हामी अंग्रेजी प्रयोग गर्छौं । जसले गर्दा हामी धेरै दर्शकसम्म पुगौंला । तर, हिन्दीमा बोल्दा हामी मनसम्म पुग्छौँ । त्यसैले हाम्रो लागि टुटेफुटेको हिन्दी नै उत्तम छ ।’निर्माता एवं निर्देशक सन्तोष सेनले आफूहरुले त्यसबेला गरेको दुःखले यतिबेला खुसी मिलेको बताए । अभिनेता सुनिल थापाले चलचित्र अन्तर्राष्ट्रिय स्तरको बनेको भन्दै खुसी साटे । भारतीय दर्शकको लागि हिमालयको सुन्दर उपहार लिएर आएको र सबैलाई मनपर्नेमा उनी विश्वस्त सुनिए । अभिनेत्री क्रिष्टिना गुरुङले आफ्नो पहिलो चलचित्रले यति ठूलो हाइप पाउँदा खुसी लागेको बताइन् ।

स्वर्गीय छेतेन गुरुङ र सन्तोष सेनले संयुक्त रुपमा निर्देशन गरेको चलचित्रमा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी, सुनिल थापा, मनिष राउत, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, जीवन भट्टराई, योगिशा खत्री, राज थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रलाई राजेश श्रेष्ठले छायांकन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?