विशेष शोमा रुचाइयो ‘गोर्खा बिनिथ द ब्रेभरी’

यही भदौ २४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘गोर्खा बिनिथ द ब्रेभरी’को शनिवार काठमाडौंमा विशेष शो सम्पन्न भएको छ । गोर्खाहरूका लागि पहिलो पटक भिक्टोरिया क्रस प्राप्त गर्ने राइफलम्यान कुलवीर थापाको वास्तविक कथामा आधारित भएर निर्माण भएको फिल्मलाई विशेष शोमा सुखद् प्रतिक्रिया मिलेको छ । शोमा उपस्थिति प्रायः पाहुनाहरुले कथावस्तुको प्रशंसा गरे ।

फिल्मको विशेष शोमा कुलवीर थापाका छोराहरु, बुहारीहरु तथा नातीहरुसहित ठूलो संख्यामा परिवारको उपस्थित रहेको थियो । शोमा सहभागिता जनाउन बेलायतदेखि कलाकारहरु समिर गुरङ, गौमाया गुरुङ र स्टुअर्ट वाल्कर नेपाल आएका थिए । विशेष शोमा मिलेको प्रतिक्रियाले आफू उत्साहित भएको निर्देशक प्रदीप शाही बताए । दर्शकले पनि फिल्म रुचाउने उनको विश्वास छ ।
फिल्मले गोर्खा सैनिकको महानताको कथा भन्ने कोशिस गरेको निर्देशक शाहीले बताए । जोखिम मोलेर विश्व शान्तिको लागि लड्ने पुर्खाहरुलाई श्रद्दाञ्जली दिन फिल्म निर्माण गरेको उनको भनाई छ । साथै, थापाको जन्मस्थानसहित अन्य तथ्यहरु दस्तावेजहरुमा गलत उल्लेख रहेको बताउँदै फिल्म निर्माणको क्रममा त्यस्ता दस्तावेजहरुमा समेत सही र सत्य राख्ने प्रयास गरेको उनले बताए ।

फिल्ममा कुलवीर थापाले जर्मनसँगको युद्धमा बहादुरीका साथ घाईते सैनिक उद्धार गरेको कथा प्रस्तुत गरिएको छ । सन् १९१५, २५ सेप्टेम्बरमा ब्रिटिश सेनाहरूले लुस, फ्रान्समा आक्रमण गरेका थिए । उक्त युद्धमा दोस्रो बटालियन, थर्ड क्वीनअलेक्जान्ड्राको आफ्नै गोर्खा राइफल्सका २६ वर्षे राइफलम्यान कुलवीर थापा गम्भीर घाइते बनेका थिए । तर, उनले मृत्युलाई जित्न सफल भए ।
घाइते भएको भोलीपल्टै अर्थात् २६ सेप्टेम्बरदेखि थापा पीडितहरुको उद्दारमा खटिए । यही घटनापछि उनलाई गोर्खाहरूका लागि पहिलो पटक भिक्टोरिया क्रस प्राप्त भयो । यही कथामा फिल्म निर्माण भएको हो । फिल्ममा समिर गुरुङ, गौमाया गुरुङ, स्टुअर्ट वाल्कर, एगिस्टिनो ओबरहोफर, ओली बस्सी, रोबिन फ्रिबर्ग, राजन गुरुङ, सूर्य गुरुङ, स्योन शाहीलगायतको अभिनय रहेको छ ।

फिल्मको कथा प्रदीप स्वयंले लेखेका हुन् । शाई प्रोडक्सनको ब्यानरमा विनोद सुवेदी खत्री कार्यकारी निर्माता र मधु गुरुङरप्रयास गुरुङ निर्माता रहेको फिल्ममा निक्को प्रताप गुरुङ र अमृत गुरुङको छायांकन, विश्व शाहीको संगीत, रुपेश गुरुङको सम्पादन, अश्रुती पटेलको कला निर्देशन, बेलेन सिलोगुलारीको कलर, एरमान जम्बकको भिएफएक्स र रबिन श्रेष्ठको साउन्ड ट्रयाक छ ।
नेपाल प्रदर्शनभन्दा अगाडि फिल्मको यूके, अमेरिका, ब्रुनाई, सिंगापुर र अष्ट्रेलियामा स्क्रिनिङ भइसकेको छ । जहाँ फिल्मलाई प्रशंसा मिलेको थियो । गोर्खालीलाई संसारले युद्द गर्ने बहादुरी सैनिकको रुपमा मात्र नभई गोर्खा सैनिकमा मानवता पनि छ भन्ने सन्देश फिल्मले दिन खोजेको छ । नेपालमा यो फिल्मलाई आरआर फिल्मस्रोहित(रत्न ले वितरण गर्ने अधिकार लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?