‘महापुरुष’बाट डेब्यू गर्दै अन्जना

कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मुख्य भूमिका रहेको चलचित्र ‘महापुरूष’मार्फत् अन्जना बराईली डेब्यु गर्दैछिन् । मोडलिङ र म्युजिक भिडियोमा अभिनय गरेकी अन्जना यो चलचित्रमा अडिसनबाट छानिएकी हुन् । उनी चलचित्रमा प्रतिष्ठाको भूमिकामा छिन् । उनले मदनकृष्ण श्रेष्ठको छोरीको भूमिका निर्वाह गरेकी हुन् । उनले अडिसनमा देखाएको अभिनयले नै ‘सेलेक्ट’ गरिएको चलचित्रका कलाकार तथा कार्यकारी निर्माता रबिन्द्र सिंह बानियाँले बताए ।

‘हामीलाई चाहिएको जस्तै अभिनय र अनुहार उहाँमा पायौँ । अडिसनमा दिइएको फरक तीन भूमिकालाई उहाँले निभाउनु भएको दृश्यले हामीलाई प्रभाव छाड्यो । धेरैको अडिसन लिएता पनि उहाँले भूमिका सुहाउँदो भएकाले सेलेक्ट गरेका हौँ,’ बानियाँले भने । उनले अडिसनमार्फत् छानिएको अन्जनाको काम चलचित्रमा प्रशंसायोग्य रहेको बताए ।

अन्जना पनि यो टिमसँग जोडिएर आउन पाउँदा खुसी छिन् । ‘मैले केही चलचित्रमा अडिसन पनि दिएकी थिएँ । एक चलचित्रमा सेलेक्ट भएर केही समय प्रतीक्षा पनि गरें । तर, त्यो चलचित्र बनेन् । पछि यसमा अडिसन दिएँ,’ उनले भनिन् । आफूले आर्दश कलाकार बन्ने महजोडीसँग काम गर्न पाउँदा गर्व महसुस भएको उनको भनाई छ । यही चलचित्रबाट अन्जनासँगै अरुण क्षेत्रीले पनि डेब्यूको अवसर पाएका छन् ।

प्रदीप भट्टराईको निर्देशनमा बनेको ‘महापुरूष’ आउँदो कात्तिक ११ अर्थात् भाइटीकाको भोलिपल्ट प्रदर्शन हुँदैछ । सामाजिक विषयवस्तुमा आधारित ड्रामामा गौरी मल्ल, रविन्द्र सिंह बानियाँ, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, पण्डित प्रज्वल लुइँटेललगायतको पनि अभिनय छ ।षट्कोण आर्ट्स प्रा.लि को व्यानरमा निर्मित चलचित्रमा कार्यकारी निर्माता रबिन्द्र सिंह बानियाँ हुन् भने निर्माता दिपेश खत्री रहेका छन् । चलचित्रमा दीपक बज्राचार्यको छायांकन, मित्र डि गुरुङको सम्पादन रहेको छ । यही चलचित्रबाट कवि नवराज पराजुलीले पनि गीतकारको रुपमा चलचित्रमा डेब्यु गर्दै छन् । चार गीत रहने चलचित्रका चारै गीत नवराज पराजुलीले लेखेका हुन् भने संगीत ऋदम कँडेलको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?